
झापा, ९ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो नामका अगाडि प्रयोग गर्दै ‘प्रोफेसर’ पद नक्कली भएको खुलेको छ।
उनले कुनै विश्वविद्यालयबाट मान्यता प्राप्त नगरी ‘प्रोफेसर’का रुपमा आफूलाई परिचित गराउँदै आएका थिए। यस्तोमा उनको यो पद नक्कली भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। उनका लागि यो नक्कली ‘प्रोफेसर’ पद अनुमोदन गराउन मिलेमतो गरेको पाइएपछि डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ।
‘डा. ज्ञानेन्द्र गिरीले बीपी प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको छ’, अख्तियारले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा त्यही ऐनको दफा १५ बमोजिम सजाय हुन र त्यही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



