
झापा, १६ माघ । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा आधा भन्दा बढी अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना अनुत्तीर्ण भएका हुन् । यो कूल सहभागिताको ५३ प्रतिशत हो ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएका थिए । जसमध्ये १ हजार ९१ जना (४७ प्रतिशत) चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए । डा. अधिकारीले एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले एबीबीएसतर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भएको बताए ।
यस्तै, बीडीएसतर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित भएका थिए । त्यसपछि परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै पास भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



