
भद्रपुर, १६ माघ । झापामा १२० जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
झापामा चालू आर्थिक वर्ष २०७९÷०८० को छ महिनाको अवधिमा १२० जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।
गत वर्ष १२१ जना नयाँ कुष्ठरोगी फेला परेकोमा यस वर्ष छ महिनाकै अवधिमा १२० जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । झापा ग्रामीण क्षेत्रमा कुष्ठरोगीको संख्या बढ्दै गएको फोकल पर्सन दासले बताउनुभयो । “नयाँ रोगी धेरै फेला परेका छन्”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा कुष्ठरोगी धेरै भेटिएका छन् ।”
झापाको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, झापा गाउँपालिकामा ११ जना, बाह्रदशीमा ७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लाका अन्य पालिकामा समेत थोरबहुत नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
कुष्ठरोगका कारण अपाङ्गता भइसकेको अवस्थामा चार जना १५ वर्षमुनीका विद्यार्थी फेला परेका छन् । झापाको हल्दिबारी, बिर्तामोड, झापा गापा र कचनकवलमा एक÷एक नयाँ कुष्ठरोगीको रुपमा बालबालिका फेला परेको दासले बताउनुभयो । अपाङ्गता भइसकेका अवस्थाका कतिपय नयाँ कुष्ठरोगी फेला परेका उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



