
झापा, २० माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा आज निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सञ्चालन गरिएको छ ।
कनकाई नगरपालिकाको समन्वयमा कनकाई–१ स्थित दलित सामुदायिक भवनमा केन्द्रले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा स्वास्थ्य परीक्षणसँगै निःशुल्क इसीजी, फिजियोथेरापी, ल्याब, पञ्चकर्म सेवा प्रदान गरिएको केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो ।
शिविरमा ग्याष्ट्रिक, वाथ, मधुमेह, दम, खोकी, पायल्स, पिनास, महिला तथा मुत्र लगायतका रोगको परीक्षण गर्नुका साथै ३५ प्रकारका औषधि निःशुल्क वितरण गरिएको कविराज निरीक्षक अर्यालले बताउनुभयो । शिविरमा डा. सुरज पन्त, डा. अनिल यादव, फिजियोथेरापिष्ट डा.सिकेन्द्र मरिक लगायतको टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले आयुर्वेद चिकित्सा विधि प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक औषधिको कुनै साइडिफेक्ट छैन, उपचारको सरल र प्रभावकारी माध्यम हो ।”
केन्द्रका प्रमुख डा. अनिल यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाईका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र डंगोल, नागरिक आरोग्य सेवा केन्द्र कनकाईकी प्रमुख रञ्जु रिजाल लगायतले आयुर्वेद चिकित्साका विषयमा चर्चा गर्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



