
झापा, २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सोमबार दशौं विस्तारित भेलामा सम्बोधन गर्दै मन्त्री गिरी सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिबृद्धिका लागि सरकार लागिपरेको बताउनुभएको हो । “सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौं ।”
स्वास्थ्य बिमाबाट उपचार सेवा लिन घण्टौं लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री गिरीले अब त्यस्तो अवस्था अन्त्य हुने दाबी गर्नुभयो । “पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गरिनेछ”, उहाँले भन्नुभयो, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौं ।”
भाषणमा नभई व्यवहारत काम गरे मात्र जनतामा सरकारप्रति विश्वास बढ्ने बताउनुहुँदै मन्त्री गिरीले कमी÷कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्ने बताउनुभयो । जनताले गुणस्तरीय सेवा नपाएसम्म सुरक्षित नहुने उहाँको भनाइ छ । उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्थाको अन्त्य गर्नु सरकारको दायित्व रहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



