
बिर्तामोड, २७ माघ । लैङ्गिक हिंसा न्युनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको बताउनुभयो । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढी रहेको भन्दै उहाँले सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्युनिकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसाविरुद्धको नगरपालिकाको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले महिला र पुरुष विचमा मात्र नभई महिला महिला विच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा राख्नु भयो । अभिमुखिकरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष, त्रिदेव बहुमुखि क्याम्पस प्राध्यापक संघ इकाई समितिकी सभापति सावित्रा दाहाल भट्टराईले प्रशिक्षण प्रदान गर्नु भयो ।
नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना (विक), शर्मिला राजवंशी, संगीता सिवा, तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडा लगायत महिला जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि, कर्मचारीको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



