
बिर्तामोड, ४ फागुन । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका स्वास्थ्य शाखामा औषधि खरिद लगायातका क्षेत्रमा अनियमिकता भएको भन्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ ।
पार्टीका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, सचिव गणेश सौगात कालिकोटे लगायातको टोलीले नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंलाई ध्यानआकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिका स्वास्थ्य शाखाले बिमा औषधि खरिदमा नगरपालिका आफैँले औषधि खरिद गरी बिरामीलाई वितरण गर्नुपर्नेमा ठेक्का प्रणालीबाट औषधि खरिद र बिक्री गर्ने गरिएको ज्ञापन–पत्रमा जनाईएको छ ।
औषधि खरिद गर्दा विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएकोबाट खरिद गर्नुपर्नेमा नगरपालिकाले मापदण्ड पुरा नगरी आफ्नो आफ्नो अनुकूलतामा खरिद गर्ने गरेको ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।
यसैगरी, नगरपालिकाले स्वास्थ्य बिमा बोर्डमा गरेको सम्झौतामा कुल ११३१ प्रकारका औषधिहरु बिक्री बितरण गर्नुपर्नेमा ३०० प्रकारमा मात्रै औषधि वितरण गरेरको जनाइएको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य संस्थाबाट औषधिको बिलिङ गर्नुपर्ने भए पनि ठेक्का लगाएर अन्य स्वास्थ्य संस्थाबाट विलिङ गर्ने गरेको माओवादी केन्द्रले ध्यानाकर्षण–पत्र जनाएको छ । पार्टीले स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नगरपालिका संवेदनशील नभएको आरोप लगाएको छ ।
यता, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महताराले ज्ञापन–पत्र बुझ्दै नगरपालिकाले गलत क्रियाकलाप गर्ने मनसाय नभएको र गल्ती भएको भए सच्चाइने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य बिमाको औषधि अस्पतालले आफैँ वितरण गर्दा प्राविधिक समस्या र घाटा भएकाले समेत ठेक्कामा जान परेको नगरप्रमुख महताराको भनाइ थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



