
झापा, ८ फागुन । झापामा यस वर्ष नौ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोड नगरपालिकाको सभाहलमा हात्तीपाइले रोगविरुद्धको अभियानबारे पत्रकारसँग अन्तरिक्रया कार्यक्रमको आयोजना गरी नौ लाख नौ हजार ५७३ जनालाई औषधि सेवन गराउन लागिएको जनाएको छ ।
जिल्लामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको १२ औं पटकको अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको यस पटक उचाइ नापेर औषधि सेवन गराइने उहाँले बताउनुभयो । “उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइने छ”, उहाँले भन्नुभयो ।
झापामा तीन प्रकारका औषधि सेवन गराइने भएको छ । अघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक ‘आइभरभेटिङ’ नामक औषधि थपिएको हो । अघिल्लो पटक लगातार पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्ने भए पनि एक वटा औषधि थप भएपछि दुई वर्ष मात्र सेवन गर्दा हुने कार्यालयका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
झापामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन नौ वटा पालिकाले हात्तीपाइले रोगविरुद्धको औषधि कार्ड स्थानीयबासीलाई दिने भएका छन् । अघिल्लो वर्ष झापा गाउँपालिकाले उक्त कार्ड प्रयोग गरेको थियो ।
संक्रमण भएको लामोसम्म लक्षण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत हुन सकेको छैन । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यले जोडतोडका साथ लागिएको प्रमुख बाराकोटी बताउनुहुन्छ ।
झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, शहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको पाइएको छ । त्यसैले ती क्षेत्रमा यस पटक औषधि सेवन गराउन प्रयासरत रहेको प्रमुख बाराकोटीले बताउनुभयो ।
हात्तीपाइले रोगविरुद्धको अभियान बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ । नेपालमा यस पटक १५ वटा जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ । जसमा सरकारले रू दुई अर्ब लगानी गरेको प्रमुख बाराकोटीले बताउनुभयो । झापाका १५ वटा पालिकामा यो अभियान अन्तरगत रू एक करोड ५० लाख आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैले औषधि सेवन गरेर अभियान सफल बनाउन अपिलसमेत गर्नुभयो ।
गत वर्ष झापामा ८५.९१ प्रतिशतले औषधि सेवन गरेको तथ्यांक रहेको छ । झापामा सन् २००१ मा संक्रमण दर २४ प्रतिशत थियो भने हाल १.४७ प्रतिशतमा झरेको छ ।
नेपालका ६४ जिल्ला हात्तीपाइले रोगको जोखिमा रहेको छ भने ३० हजार हात्तीपाइले रोगबाट संक्रमित रहेका छन् । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



