
भद्रपुर, ११ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बराल र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरी अभियान शुभारम्भ गर्नुभयो । समाजमा सुशुप्त रुपमा जरो गाडेर बसेको हात्तीपाइले रोग निर्मुल पार्न सबैले अनिवार्य औषधि सेवन गनुपर्नेमा अध्यक्ष बरालले जोड दिनुभयो ।
झापामा हात्तीपाइले रोगविरुद्धको १२ पटकको अभियान सञ्चालन भएको हो । जिल्लामा नौ लाख नौ हजार ५७३ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको यस पटक उचाइ नापेर औषधि सेवन गराइँदैछ । उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइनेछ ।
झापामा तीन प्रकारका औषधि सेवन गराइने भएको छ । अघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक ‘आइभरभेटिङ’ नामक औषधि थपिएको हो । अघिल्लो पटक लगातार पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्ने भए पनि एक वटा औषधि थप भएपछि दुई वर्ष मात्र सेवन गर्दा हुने कार्यालयका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमण भएको लामोसम्म लक्षण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत हुन सकेको छैन । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यले जोडतोडका साथ लागिएको प्रमुख बाराकोटी बताउनुहुन्छ ।
गत वर्ष झापामा ८५.९१ प्रतिशतले औषधि सेवन गरेको तथ्यांक रहेको छ । अभियान सफल बनाउन यस पटक ८० प्रतिशत भन्दा बढी लक्ष्य हासिल गर्नुपर्नेछ । झापामा सन् २००१ मा संक्रमण दर २४ प्रतिशत थियो भने हाल १.४७ प्रतिशतमा झरेको छ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



