
बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोड नगरपालिकाले फागुन २० गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । उक्त दिन सभामुख देवराज घिमिरेले उद्घाटन गरेसँगै नगर अस्पतालको औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । हाल नगर अस्पतालबाट दैनिक २५० देखि ४०० जनाले सेवा लिइरहेका छन् ।
बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण गरिसकेको छ ।
केन्द्र सरकारको रू पाँच ५० करोड लाख सात हजार सात सय ६० रुपैयाँको लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए ।

मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताउनुभो । “मानिसले शिक्षा पाएन भने पनि स्वास्थ्य ठीक छ भने गरिखान सक्छ”, उहाँले भन्नुभयो, “हरेक नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौं ।”
नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले बताउनुभयो । “विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौं”, उहाँले भन्नुभयो, “विशेष परिस्थिति बाहेक रिफर दिइने छैन ।”
नगर अस्पतालका हाल ३६ जना जनशक्ति समेत व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन जना मेडिकल अधिकृत, प्यारामेडिक्स १२ जना, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एकजना गरी ३६ जना जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा थप रू १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



