
सन्तोष शर्मा
झापा, १० चैत । झापामा गम्भीर प्रकारका क्षयरोगीको संख्या बढ्दै गएको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त संख्या दोब्बरले बढेको छ ।”
झापामा चालू आर्थिक वर्षको फागुनसम्ममा पाँच सय ८४ जना नयाँ क्षयरोगी फेला परेका छन् । जसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष रहेका छन् । ११ जना महिला र ४० जना पुरुषमा क्षयरोग पुनः दोहोरिएको फोकल पर्सन दासले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ जना नयाँ क्षयरोगी फेला परेका थिए ।
जिल्लामा ‘ड्रग रेसिसन्टेन’ (औषधिले काम नगर्ने) रोगीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताउनुभयो । “गम्भीर प्रकारका रोगीको संख्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “रोगीको खोजी कार्य पनि बढाउनुपर्ने देखिन्छ ।”
फेला परेका रोगीको संख्याको आधारमा औषधि आउने भएकाले पनि केही समस्या भएको उहाँको भनाइ छ । “औषधि ठिक्क पुग्ने गरी आउँछ”, उहाँले भन्नुभयो, “पहिला केही बढी आउँथ्यो, कोही नयाँ थपिँदा पनि औषधि वितरणमा सहज थियो ।”
यता, प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर प्रकारका क्षयरोगीको समेत उपचार हुने गरी डीआर सेन्टर सञ्चालनमा आएको छ । यसअघि त्यस्ता रोगीले बिराटनगर जानुपर्ने बाध्यता रहेको थियो । प्रादेशिक अस्पतालमा डीआर सेन्टर सञ्चालनमा आउने भएपछि त्यस्तो बाध्यता हट्ने भएको छ ।
सेन्टर सञ्चालनका लागि स्वास्थ्य निर्देशनालयबाट प्राप्त आवश्यक उपकरणहरु आजै हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
उता, क्षयरोग दिवसको अवसमार आज स्वास्थ्य कार्यालय झापाले क्षयरोगीहरुलाई अण्डा र चना वितरण समेत गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ आज झापामा विविध कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



