
सन्तोष शर्मा
कनकाई, ८ बैशाख । झापाको कनकाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय सुधार गर्दै गएको छ ।
नगरबासीमा स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न नगरपालिकाले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै गएको हो । कनकाईमा १५ शैय्याको एक वटा नगर अस्पताल, सात वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, एक वटा स्वास्थ्य केन्द्र र एक वटा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालित छन् भने थप १५ शैय्याको अस्पताल भवन निर्माण भइरहेको छ ।
नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम र अक्सिजन प्लान्टसहित नगर अस्पताल सञ्चालन भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको नगर अस्पताल बनाइएको छ भने नगर अस्पताल निर्माणका लागि केन्द्रबाट प्राप्त बजेटबाट थप १५ शैय्याको अस्पताल भवन निर्माण कार्य धमाधम भइरहेको छ ।

“पछिल्लो समय स्वास्थ्य सेवा महँगो र विपन्न समुदायको पहुँचभन्दा बाहिर गइरहेको छ”, उहाँले भन्नुभयो, “पिलो आउँदा पनि उपचार गर्न जाँदा ठूलो रकम खर्च हुने अवस्था छ, पैसा नभएर रोग पालेर बस्नुपर्ने बाध्यता छ, त्यसैले पनि हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विपन्नको स्वास्थ्य बिमा, सरकारी स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं ।”
नगर अस्पतालमा नगरपालिकाले आन्तरिक स्रोतबाटै दक्ष जनशक्ति व्यवस्थापन समेत गरेको छ । हाल नगर अस्पतालमा विशेषज्ञ एक जना, मेडिकल अफिसर एक, स्टाफ नर्स चार जना, ल्याबमा दुई जना, सहयोगी तीन जना रहेका छन् ।
नगरपालिकाले गत वर्ष सात सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेकोमा चालू आर्थिक वर्षमा एक हजार पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

नगर अस्पतालको ल्याब सेवासमेत थप परिस्कृत बनाउन नगरपालिका लागि परेको छ । अस्पतालबाटै थाइराइड लगायत सबै प्रकारका जाँच हुने गरी दुई वटा मेसिन खरीद गर्न बोलपत्र आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो । “जनशक्ति थपका लागि तीन जना डाक्टर समेत माग गरेका छौं”, उहाँले भन्नुभयो, “ल्याबका लागि दुई मेसिन खरीदका लागि बोलपत्रसमेत आह्वान गरिएको छ, एक महिनाभित्र अत्याधुनिक ल्याब सञ्चालन गर्ने योजना छ ।” बालरोग विशेषज्ञ, फिजिसियन र स्त्रीरोग विशेषज्ञका लागि दरखास्त आह्वान गरिएको हो ।
बहिरंग र अन्तरंग सेवा शुरु भएको नगर अस्पतालमा कनकाईका साथै छिमेकी पालिका अर्जुनधारा, शिवसताक्षी, बाह्रदशी, झापा गाउँपालिका समेत बिरामी सेवा लिन आउने गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारी बताउनुभयो । चालू आवमा नगरले स्वास्थ्यमा रू एक करोड ५० बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा थप बजेट बनाउनु पर्ने अवस्था रहेको जनस्वास्थ्य निरीक्षक अधिकारीले बताउनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



