
झापा, २७ बैशाख । सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्याउने भएको छ। सरकारले हाल ९८ दिन बिदा दिँदै आएकोमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि सुत्केरी बिदा ६ महिना दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झन्डै दुई महिना पहिले सिफारिस गरेको थियो । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गरी ६ महिना सुत्केरी बिदा दिने व्यवस्थासहितको मस्यौदा करिब दुई हप्ताअगाडि नै कानुन मन्त्रालय गइसकेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले सुत्केरी बिदा ६ महिना दिने भनेर धेरै पहिला नै छलफल भएको जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



