
बिर्तामोड, २८ जेठ । झापाको बिर्तामोड नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण शुरु भएको छ । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीन तले नयाँ भवन शिलान्यसा भएसँगै नगर अस्पताल भवन निर्माण शुरु भएको हो ।
भवनको शिलान्यास नगरप्रमुख पवित्रा महतारा प्रसाईले गर्नुभएको थियो । नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको उहाँको भनाइ छ ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको नगर अस्पताललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नुपर्ने बताउनुभयो । अस्पतालको एउटै उद्देश्य सर्वसुलभ ढंगले जनतालाइ सेवा दिनु रहेकाले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने जोड दिनुभयो ।
रू १५ करोड ३४ हजार ३ सय ३६ मा ठेक्का लागेको भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाडांैले पाएको छ । गत बैशाख ८ गते निर्माण सम्झौता गरिएको भवनको निर्माण कार्य २०८१ फागुन २६ गते काम सम्पन्न गर्नुपर्ने छ । भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शैय्याबाट २५ शैयामा स्तरोन्नती हुनेछ ।
नयाँ अत्याधुनिक भवनभित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेलिभरी कक्ष, ब्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पताल भवनको रू १८ करोड ८५ लाख रुपैयाँका लागत स्टिमेट भए पनि रू १५ करोड ३४ हजार तीन सय ३६ मा ठेक्का लागेको छ ।
यसअघि रू ५ करोड ५० लाख सात हजार ७६० को लागतमा निर्माण भएको १५ शैय्याको भवन सभामुख देवराज घिमिरेले फागुन २० गते उद्घाटन गरेपछि नगर अस्पताल सञ्चालनमा आइसकेको छ । नगर अस्पतालमा हाल एक जना एमडीजीपी, तीन जना एमबीबीएस डाक्टरसहितको सेवा उपलब्ध छ । यहाँबाट दैनिक दुई सय जनाभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



