
झापा, ९ असार । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२/५३ देशमा कार्यरत ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले जानकारी दिए ।
उनले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिए । टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा धरेलले भने, “रोग ग्यास्ट्रिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि सामान्य ग्यास्ट्रिकको औषधीले निको भएको छ ।”
बोर्डले गत चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ । वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



