
बिर्तामोड, ९ पुस । प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानामगरले पत्रकारहरुले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ झापाको ३५ औं स्थापना दिवसको अवसरमा आज आयोजित संस्थापकहरुलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुक समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने जोड दिनुभयो ।
विकसित मुलुकहरुमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण भएको उहाँको भनाइ थियो । “हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्वपूर्ण छ ।” उहाँले कानून मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयन पक्ष मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोबिन्दचन्द क्षेत्री र मोहन ढुंगानालाई सम्मान गरिएको थियो । उहाँहरुलाई प्रमुख अतिथि रानामगरले सम्मान पत्र प्रदान गर्नुभयो । त्यस्तै, कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित एवम् संस्थापक सचिव तारा बराल र कोषमा सहयोगकर्ता बिनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला संग्रौला, औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराइ र सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



