
झापा, २७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज बेलुका मेचीनगर–६ पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका लमजुङ घर भई हाल तनहुँ व्यास नगरपालिका–१० का २८ वर्षीय उत्सव पौडेल र नुवाकोट बेलकोटगडी नगरपालिका–१३ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय अर्जुन राज पाण्डेलाई पक्राउ गरेको हो ।
ब्युरोले शंका लागेर चेकजाँच गर्दा पौडेलको साथबाट खैरो हेरोइन प्लाष्टिक बाहेक ८ ग्राम ६१० मिलिग्राम फेला परेको थियो । पौडेलसँगै रहेका उनका साथी पाण्डेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


