
काठमाण्डौ, ११ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् ।
पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।
यो खेलमा भारतको टोलीमा कप्तान रोहित शर्मासँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, हर्षित राना, मोहम्मद शमी र कुलदीप यादव छन् ।
यस्तै पाकिस्तानको टोलीमा कप्तान मोहम्मद रिजवानसँगै इमा–उल–कल, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यब ताहिर, खुश्दिल शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र अब्रार अहमद छन् ।
आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


