
.
दमक, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘यसै अभियानअन्तर्गत विभिन्न जातीय तथा क्षेत्रीय मोर्चाहरूको सम्मेलन र महाधिवेशन आयोजना गरिएको हो’, उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा हाम्रो समाजवाद समुदायमा आधारित हुनुपर्छ भन्ने निर्णयमा पुगेका छौं ।’
उनले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उद्देश्यका साथ माओवादी केन्द्रले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौंमा भेला गरी स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने कार्यक्रम अघि सारेको बताए ।
यसैगरी, आज मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उर्लाबारीमा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको उल्लेख गरे।
पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको पनि उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



