
राजेश ढुंगाना
राजाको एकतन्त्रीय हुकुमी शासनमा मुलुक चरम निराशामा गएर २०४६ सालमा भएको व्यापक जनआन्दोलन सफल भएपश्चात बहाल प्रजातान्त्रिक शासन व्यवस्थाले नेपाली जनतामा अत्यन्त ठूलो आशा पलाएको थियो – अब मुलुकमा केही हुन्छ र देशले व्यापकस्तरको अग्रगामी फड्को मार्ने छ । यो आशा यसकारण पनि स्वाभाविक थियो कि – ३० वर्षसम्मको राजशाही विरुद्ध नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट एउटा सकारात्मक परिणाम आएको थियो । २०४६ सालको जनआन्दोलन सफल पार्न ३० वर्ष लामो अनेकन् प्रकारका बलिदानीपूर्ण संघर्ष र शहादत समेतको मूल्य चुकाएका छन्– नेपाली जनताले ।
२०१७ सालमा प्रथम जननिर्वाचित सरकारलाई राजा महेन्द्रले सैनिक शक्तिका बलमा बेदखल गरेर प्रजातन्त्रको हत्या गरेपछिका दिनमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको संघर्ष नेपालका लागि मात्र होइन, विश्व प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा समेत उल्लेख्य आन्दोलन मानिन्छ; उदाहरणीय आन्दोलन ठानिन्छ ।

तर, ३० वर्ष लामो बलिदानपूर्ण संघर्षले ल्याएको प्रजातन्त्रले नेपाल राष्ट्र र नेपाली जनतामा ल्याएको अत्यन्त ठूलो आशा २०४६ सालपछिको केही बर्षमै नराम्रोगरी दुब्लाउँदै गयो । नढाँटिकन इमानदारीपूर्वक भन्नु पर्दा– हाम्रो राजनीतिक नेतृत्वले त्यो अमूल्य प्राप्तिलाई थेग्न सकेन । २०४६ सालमा आएको प्रजातन्त्र दुई–चार वर्ष समेत नपुग्दै हाम्रो राजनीतिक नेतृत्वको बेइमानीमा परेर त्यही समयदेखि नै भ्रष्टाचार र अनियमितताको दल्दलमा फँस्न पुगेको हो । लगभग २०५० सालदेखि नै राजनीतिक नेतृत्वले अत्यन्तै बेइमानीपूर्वक अनियमितता र कपटपूर्ण तवरले राजनीतिमा नैतिकता त्यागेर लोभी–पापी मन बनाएपछि हाम्रो देशको अवनतिको प्रस्थानबिन्दु प्रारम्भ भएको कुरा कुनै इतिहास नभएर अहिले र यतिबेलाकै टड्कारो वर्तमान हो ।
यहाँनेर आइपुगेपछि एउटा गम्भीर प्रश्न निर्ममतापूर्वक उठेको छ – के हाम्रो बलिदानकै रगतमै केही चुक र त्रुटि त थिएन र छैन ? नभए प्रजातन्त्र प्राप्तिको दुई–चार वर्ष पनि नपुग्दै प्रजातन्त्र यसरी किन इतिहास बोकेका आफ्नै नेताहरूबाट क्रमशः क्रमशः रुपले बलात्कृत हुन पुग्यो ? हाम्रो क्रान्तिको रगतमै केही त्रुटि र चुक रहेका कारणले यस्तो विसंगत र विद्रूपपूर्ण स्थिति आएको पो हो कि ? हामी आफैँमा केही कमजोर र बेइमान त थिएनौं र होइनौं ? नभए प्रजातन्त्र प्राप्तिको एकाध वर्षमै प्रजातन्त्रको पुरुषत्व यसरी पंगु हुने थिएन ।
हो, वर्तमान प्रजातन्त्रको चरम रुपको भ्रष्टाचार र अनियमितताको जग २०४६ सालको केही वर्षपछि नै रोपिएको वास्तविकतालाई नकार्न सकिन्न । सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तरिम प्रधानमन्त्रीत्व काललाई छाडेर त्यसपछिका मुलुकका नेतृत्वकर्ताहरूले लोभ र पापलाई संवरण गर्न नसकेर त्यहीँबाट क्रमशः चुक्न थालेका हुन् । र, नेतृत्वकै कारण देश पनि त्यहीँनेरबाट चुक्न थालेको हो । नेतृत्व, यसरी र यति छिटै चुक्ने छ भन्ने कुराको कल्पना समेत गरेका थिएनन्, नेपाली जनताले ।
तर भयो– त्यही कल्पना नगरेको कुरा । अनियमितताको दल्दलमा मुलुक प्रजातन्त्र प्राप्तिको छोटो समयम नै भासिएको प्रष्ट संकेत आउन थालेपछि नेपाली जनताको मुटु त्यतिबेलादेखि नै थर्थरीसँग काम्न थालेको हो । राजनीतिमा अत्यन्तै ठूलो दुष्कर्म गर्दै पाप र धर्मको सामान्य स्तरको ख्याल र वास्ता समेत नगर्ने अविवेकी र बेइमान राजनीतिक नेतृत्वको जग अन्तरिम सरकारको अन्त्यसँगै जब पलायो– त्यतिबेलाका दुई प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेले उतिबेलैदेखि आफ्नो परिचय, पहिचान र सान्दर्भिकता समेत गुमाउन थालेका हुन् ।
कुरा संक्षिप्तमा के भन्न खोजिएको हो भने – यतिबेलाको अर्थात् भनिने गरिएको लोकतन्त्र र गणतन्त्रको हाम्रो राजनीतिक नेतृत्वको चरम बेइमानी त्यसैको जगमा निर्माण भएको भव्य महल अथवा दरबार नै हो । ३० वर्ष अघि प्रजातन्त्र आएपछि रोपिएको सानो विष वृक्ष यतिबेला विशाल रुपले झांगिएको हो ।
हाम्रा राजनीतिक नेतृत्व त्यतिबेलैदेखि चुक्न थाले र अहिलेसम्म आइपुग्दा फेरि कहिल्यै सप्रन नसक्नेगरी पूर्णतः र शतप्रतिशत चुकिसकेको छ । अब अहिलेको राजनीतिक नेतृत्वबाट नेपालको विकास र उन्नति सम्भव नै छैन । त्यसैले फेरि पनि त्यही एउटा प्रश्न निर्ममतापूर्वक उठी नै रहेको छ, दोहोरिएर– कहीँ र कतै हाम्रो बलिदानमै केही त्रुटि र चुक थिएन र छैन ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

