
राजेश ढुंगाना
नेपाल राष्ट्रले २०४६ सालमा प्राप्त गरेको प्रजातन्त्र र त्यसपछि ल्याइएको भनिएको गणतन्त्रले मुलुक उन्नतिको मार्गमा बढ्ने छ, खराब कामहरू हुने छैनन् भन्ने नेपाली जनताको आशा र विश्वासमा निर्मम तुषारापात भएको कुरा जति पटक भने पनि पुरानो र गलत हुँदैन ।

मुलुकको यो दुर्भाग्यले हाम्रो सुदूर भविष्यका सयौं वर्षहरूका लागि हाम्रो ३५ वर्षे प्रजातान्त्रिक शासनमा राजनीतिक नेतृत्वले निधारमा कलंकको टीका लगाएको पुष्टि गर्ने कुराको कुनै प्रमाण खोजिरहनु पर्दैन– भावी पुस्ताले नाङ्गा आँखाले स्पष्ट देख्न सक्नेछन् ।

हाम्रो नेतृत्वको आँखामा नीतिगत अराजकता, भ्रष्टाचार, राष्ट्रदोहनको अर्जुनदृष्टि मात्र भएपछि उसको मस्तिष्कमा कुनै भिजन र रिजन खोज्नु हाम्रो आफ्नै गल्ती, भूल र कमजोरी हुने छ । ३० वर्षको हाम्रो राजनीतिक नेतृत्वले हरप्रकारबाट जतिसक्दो धेरै अपराधपूर्वक राज्य दोहन गरेको छ । केवल यति मात्र गरेका छैनन् – राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रका समेत सबै संरचनालाई निर्ममतापूर्वक निर्लज्ज रुपले ध्वस्त नै पारिदिएका छन् । सबै कुराको सिस्टम बिगारिएको छ, छरपष्ट र समाप्त पारिएको छ ।
यस्तो अवस्था शायद यो मुलुकले इतिहासमा कहिल्यै व्यहोरोको–भोगेको थिएन । नेपाली जनता र नेपाल राष्ट्रले भोग्नु परेको यो दुर्भाग्यको निमित्त हामीले मानेका र पत्याएका नेताहरू तथा राजनीतिक नेतृत्व नै सम्पूर्ण रुपमा जिम्मेवार छन् । तर, गैरजिम्मेवार र अझ अगाडि बढेर भन्नुपर्दा अपराधीहरूका अघिल्तिर जिम्मेवारीबोधका कुरा गिड्गिडाउनुको कुनै अर्थ छैन । त्यो केवल हाँस्य र पीडा दुबै एकै पटक हो । कुरा के बाट, कहाँबाट, कसरी शुरु गर्नु, अब त अतिचार भएर नेपाली जनताले त्यसको भेउ समेत पाउन छाडिसके । एउटा र केही कुरा मात्रै भए पो !
राजनीतिक नेतृत्वको अपराधपूर्ण निर्लज्जताको पराकाष्ठाले यति ठूलो रूप र आयतन लिएको छ कि, त्यसबाट नेपाली जनता घोर निराशामा बाँच्न बाध्य मात्र छैनन्; देश र जनता लगभग आत्महत्याकै डिलमा छन् । नेतृत्वको इमान सम्पूर्णमा जब चुक्दछ – त्यतिबेला देश र जनताले भोग्ने यही राजनीतिक र सामाजिक आत्महत्या नै हो । हो, यो बेला नेपाल र सिङ्गो नेपाली जनता फेरि आशा र विश्वास नपलाउने टुङ्गो भएको निराशा बाँचिरहेका छन् ।
हालै कर्मवीर महावीर पुन आफ्नो अभियान लिएर यो पंक्तिकारको पनि बसोबास रहेको झापामा आएर आफ्नो पुस्तक आफैँ बेच्ने काम गरेको देखेपछि पंक्तिकारको अगाडि केही विचारहरू तरंगित भएका छन् । राष्ट्रका महान् आविष्कारक पुनलाई यसरी सडक–सडक र चोक–बजारमा पुस्तक बेचेर हिँड्न बाध्य पार्ने हाम्रो राजनीतिक नेतृत्वलाई न्यूनतम् लज्जाबोध समेत भएको छैन । एउटा महान प्रतिभाले आफ्नो अत्यन्त महत्वपूर्ण समय र काम छाडेर यसरी सडकमा किताब बेच्न बाध्य हुँदै हिँड्नुले उनको समय नष्ट भएर राष्ट्रलाई अपुरणीय घाटा भएको छ ।
एउटा बीरगञ्ज कृषि औजार कारखाना र त्यसभन्दा पनि महत्वपूर्ण रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई लाग्ने सम्पूर्ण लगानी गरिदिएर नवप्रवर्तनमा लगाउनु पर्ने किमती समय नष्ट नगर्नु होस् भनेर सरकारले वैज्ञानिक पुनलाई आविष्कार कर्ममा लाग्न भन्नु पर्ने हो । यति सानो काम पनि नगर्ने राजनीतिक नेतृत्वसँग फेरि पनि के आशा र विश्वास गर्नु ? भो… राजनीतिक नेतृत्वसँग अब कुनै भरोसाको कुरा गर्न बाँकी रहेन !
र, हिजो मात्रको एउटा नयाँ प्रसङ्गको संक्षिप्त चर्चा—
लामो समय मुटु रोगका असल, कुशल र दक्ष चिकित्सक भएर राष्ट्र र जनतालाई सेवा गरिरहेका वरिष्ठ चिकित्सक, मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले आफ्नो पदबाट राजीनामा मात्र दिएनन्, पेशा नै समेतबाट पनि अलग यात्रा थालेर विदेशिने घोषणा गरेका छन् । यसरी यो घटनाबाट पनि राष्ट्रले नै एउटा अपूरणीय क्षति व्यहोर्न पुगेको छ ।
यसको कारणमा, अहिले दोस्रो पटक पनि उनको योग्यता र क्षमताले मनग्गे भ्याउने चिकित्सा अध्ययन संस्थानको उपकुलपति पद दिन सरकारले रोकेपछि उनले त्यो अपमान सहेर बस्न चाहेनन्, सकेनन् । उनलाई उपकुलपति बनाउन नसकिएको कारण के अरे भने – पहिले जस्तै यस पटक पनि कुनै कनिष्टलाई शेरबहादुर देउवाले त्यो पद दिने वचन दिइसकेका थिए रे ! वचन पनि शायद साविक बमोजिम नजराना सहितकै त होला नि ! त्यसो भएपछि योग्य र क्षमतावानहरु कहाँ अट्थे अनि चाकरबाज र नजरानादाता कसरी पो छुट्थे ! समाचार साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

