
राजेश ढुंगाना
एक हुल मान्छेहरू
आएर आफ्नै छातीमा मुड्की ठोक्तै
एक दिन मसँग
आफै आफ्नो परिचय माग्ने छन्
लुगा होउञ्जेली त ठीकै छ
तर
च्यातिएको दिन लुगा
ती मान्छेहरू आएर मसँग
ठिङ्ग उभिएर सोध्नेछन् –
कि
हाम्रो भेष कुन हो
र भन्ने छन्
हामीले त
नमूनासम्म पनि राख्न नसकेर
आफ्नो भेषको
कटिङ्ग नै समेत हराएका छौं
धरती
होउञ्जेली त नाँच्ने हो
पाइताला पनि
तर
धरती नै गुमाएको दिन
उनीहरूले
मसँग भन्ने छन्
एकोहोरो नाँच्ने धुनमा
हामीले त नाँच्नलाई
खुट्टा मात्र पर्याप्त ठानेका थियौं
टेक्ने
एक अंगुल माटोको
अभावमा पनि
नाँच्न नसकिने रहेछ
नाँच्न
खुट्टा मात्र होइन
टेक्ने जमिनको चाहिँ
जरुरी हुँदोरहेछ
हामीले त नाँच्ने धुनमा
टेक्ने
एक अंगुल
जमिन पनि गुमाएका छौं
मलाई विश्वास छ कि
एक हुल मान्छेहरू भ्रम टुटेको दिन
मसँग आएर रुनेछन्
र भन्ने छन्
खोइ, हाम्रो माटो खोइ ?
खोइ
हाम्रो देश खोइ ??
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

