
राजेश ढुंगाना
यतिबेला मुलुकमा धेरै चर्चा र चासोको विषय नेपाली कांग्रेसको महाधिवेशन भएको छ । इतिहासदेखि अघिल्लो पटकसम्म लगातार पहिलो दलका रुपमा स्थापित रहेको कांग्रेसको महाधिवेशन जस्तो सबैभन्दा महत्वपूर्ण विषयमा आम चासो र चर्चा हुनु स्वाभाविक नै हो । तर, यसपटकको महाधिवेशनको चर्चा कांग्रेसका लागि त्यति प्रीतिकर र सुखद भने छैन । त्यसै पनि कांग्रेस यो समय अत्यन्त गम्भीर मोडमा पुगेको छ । उसको जीवन रहने वा नरहनेसम्मको फैसला यो महाधिवेशनकै समयमा, नभए त्यसको केही महिनाभित्र हुन सक्छ । हुन सक्छ– कांग्रेस बाँची नै रह्यो भने पनि अत्यन्त लिखुरे भएर बाँच्ने सम्भावना प्रबल छ ।
कांग्रेसको घोषित महाधिवेशन समयमा नै हुने कुनै सम्भावना अब छैन । त्यो हुनलाई संस्थापन पक्ष पराजित नै भएसम्मको दबाब सिर्जना हुन सक्यो भने मात्र हो । त्यो स्थिति कांग्रेसमा अहिले छैन । प्राविधिक रूपमा जालझेल गरेर नै सही, संस्थापन पक्ष नै बलियो छ । पार्टी बलियो होस् नहोस्, पार्टीलाई कमजोर पारेर नै सही, आफू र आफ्नो पक्षलाई मजबुत पार्ने शेरबहादुर देउवाको एक मात्र खेलले पार्टीमा उनको प्राविधिक बहुमत र पकड अझै छ ।
यस्तो अवस्थामा संस्थापन पक्ष कमजोर देखिएको बखत उसलाई कुनै पनि हालत र स्थितिमा महाधिवेशन गर्नु छैन । र, शेरबहादुर इतर पक्ष पनि बलियो छैन । सोलोडोलो रुपमा इतर पक्ष एक भएको भए देउवालाई गलाउन पनि सक्ने स्थिति रहन्थ्यो । दुर्भाग्यले कांग्रेस संस्थापनइतर पक्षको स्थिति र अवस्था त्यो छैन । यसैको लाभ देउवा पक्षले अहिले पनि उठाइरहेको छ र भयो भने महाधिवेशनमा समेत उठाउने छ ।
प्रष्ट होस्– देउवाको सत्ता आकांक्षा विपरीत परिस्थितिमा समेत अहिले पनि प्रबल छ । आफू सत्ता पाउन र आफ्नो स्वार्थका लागि देउवा जे जस्तो कर्म गर्न पनि तयार भएको तथ्य इतिहाससिद्ध कुरा हो । पार्टी र सिंगै प्रजातन्त्रलाई नै समेत ‘गोर्खाका राजाले न्याय दिए’ भन्ने निर्लज्ज वचन सार्वजनिक गर्ने उनले राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र बुझाएकै हुन् । त्यसैले देउवाका निमित्त पार्टीको माया र महत्वभन्दा, पार्टीलाई सत्ताको भ¥याङ बनाउनु मात्र छ ।
यस्तो भएपछि कांग्रेसको क्षतविक्षत जीवनले पुनर्जीवन पाउने सम्भावना अत्यन्तै न्यून छ अथवा छँदै छैन भन्दा पनि हुन्छ । महाधिवेशन नहुँदा मात्र होइन, हुँदा समेत कांग्रेसको पुनर्जन्म होला त ?— प्रश्न यसकारण बलियो छ कि, उसले हालका मितिसम्म समय परिस्थिति अनुसार हिँड्न र आफूलाई बदल्न सकेको छैन । केन्द्रीय समिति अराजनीतिक दासहरूको देउवाको बृहत् कोटरी मात्र भएको यो अवस्थामा कांग्रेस पुनर्ताजगी तर्फ जाने कुरा अस्वाभाविकप्रायः छ ।
शेरबहादुर यतिबेला संसद् पुनस्र्थापना गराएर केपी ओलीको समर्थन र सहयोगमा पुनः प्रधानमन्त्री बन्न पाए महाधिवेशन टारेर आफू र आफ्ना अनुकूलहरूको पक्षमा हुने उचित समयमा मात्र अधिवेशन गर्न चाहन्छन् । प्रसङ्गवश, कांग्रेस नेतृत्वमा देउवाको प्रथम मात्र होइन, एक मात्र चाहना श्रीमती आर्जु राणा मात्र हुन् । तर, अहिले परिस्थिति त्यो अनुकूल नरहेकाले पनि देउवा केही महिना महाधिवेशन टार्न चाहन्छन् ।
संसद् पुनस्र्थापना गरेर सत्तारहण गर्दै सत्ताको बलमा पुनः पार्टीमा पकड जमाएपछि मात्र उनको महाधिवेशन गर्ने अभिलाषा देखिन्छ । उनले कुनै पनि हालतमा यसो गर्न नसके मात्र महाधिवेशन हुने हो । नत्र त्यसको कुनै सम्भावना नै छैन । यसको कारण हो– यतिबेलासम्म आइपुग्दा कांग्रेस अपवाद बाहेक प्रायः दासहरूको पार्टीमा रूपान्तरित भइसकेको छ । त्यसैले देउवा सत्तामा गए अधिकांश कांग्रेसीले त्यसको गुलियो चाट्दै पुनः देउवाको चरणमा विवेक र स्वाभिमान अर्पण गर्ने पक्का छ ।
रह्यो कुरा– विशेष महाधिवेशनको । नियमित महाधिवेशन समेत त नगर्ने संस्थापन पक्षले झन विशेष महाधिवेशन गर्ने सम्भावना नै छैन । विशेष महाधिवेशन मांग गर्नेहरुले कि त त्यो नगर्दा पनि सहेर र दबेरै बस्नु प¥यो । होइन भने, बहुमतको आडमा आफैं विशेष महाधिवेशन घोषणा गर्दै नेतृत्वबाट देउवालाई निकाल्दै नयाँ नेतृत्व चुन्नु प¥यो । यस अर्थमा संस्थापनइतर पक्षका हकमा आत्मसमर्पण अथवा पार्टी विभाजन गरेर अग्रगतिको राजनीतिक अभ्यास गर्नु बाहेकको विकल्प छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

