
सन्तोष शर्मा
झापा, १५ फागुन । झापामा यतिबेला सर्ने रोगको पहिचानका लागि दुई महिने अभियान सञ्चालन भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग र मोटोपनको पहिचान भइरहेको हो ।
घरघरमा पुगेर नसर्ने रोगहरूको पहिचान भइरहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । माघ र फागुन महिनाभरि नसर्ने रोगको पहिचान गरिने उहाँले बताउनुभयो ।
जिल्लाका सबै स्वास्थ्य संस्थाबाट नसर्ने रोगको पहिचान हुने उहाँले बताउनुभयो । जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकाले अभियान अन्तरगत नसर्ने रोगको पहिचान गर्ने उहाँले बताउनुभयो । “सबै मानिस स्वास्थ्य संस्थामा आएर परीक्षण गराउन सक्दैनन्÷ गराउँदैनन्”, उहाँले भन्नुभयो, “त्यसैले घरघरमा गएर परीक्षण अभियान चलिरहेको छ ।”
नसर्ने रोग पहिचान अभियान अन्तरगत गत वर्ष आर्थिक वर्ष २०८१÷०८२ मा ३२ हजार २४३ जनाको परीक्षण गरिएको थियो । सो परीक्षणका क्रममा ३८ प्रतिशत अर्थात् १२ हजार दुई सय ९९ जनामा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग र मोटोपन देखिएको थियो ।
परीक्षणका क्रममा चार हजार दुई सय ६७ जनामा उच्च रक्तचाप, तीन हजार दुई सय २१ जनामा मधुमेह, तीन सय ५४ जनामा मृगौलासम्बन्धी रोग र चार हजार चार सय ५७ जनामा मोटोपनाको समस्या देखिएको स्वास्थ्य कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
नसर्ने रोग देखिएका छ हजार ८९ जनालाई उपचार प्रदान गर्नुका साथै एक हजार आठ जनालाई उपचारका लागि प्रेषण (रेफर) गरिएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, अभियानकै क्रममा प्रजनन् स्वास्थ्य रूग्णता परीक्षण अन्तरगत एक सय २१ जनाको पीओपी र तीन हजार तीन सय सात जनाको भिआइए परीक्षण गरिएको थियो । उनीहरूमध्ये दुई हजार एक सय १९ जनाको उपचार गरिएको र एक सय ८७ जनालाई उपचारका लागि रेफर गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका ‘एक महिने अभियान सञ्चालन निर्देशिका–२०८१’ तयार गरेको छ ।
नेपालभित्र बसोबास गर्ने ३० वर्षभन्दा माथि उमेरका सबै व्यक्तिलाई प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय तथा आधारभूत अस्पतालमा अभियान सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।
पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको संख्या बढ्दै गएको छ । निर्देशिका अनुसार नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । चिकित्सकका अनुसार बदलिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवर्तन जनसंख्याको अनुपात जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा झनै बढ्दो क्रममा रहेको छ । मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चार जना वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको छ ।
समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिस्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठूलो धनराशी खर्च भइराखेको छ र अल्पायुमानै मृत्यु भइराखेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


