
गायिका बिन्दु पौडेलले नयाँ गीत ‘जिन्दगी के छ र’ बजारमा ल्याएकी छिन् । गीतमा उनलाई शिव हमालले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि हमालले नै तयार पारेका हुन् ।
गीतमा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी बिन्दुले बेला बेलामा नेपाली गीत सङ्गीत ल्याउने गर्दछिन् ।
गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गायिका बिन्दुको मुख्य अभिनय छ । इनाक्षी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।
भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक ढङ्गले देखाइएको छ । भिडियोको सुरुवातमा एयरपोर्टबाट फर्किएका पात्रहरू र गाउँको परिवेशलाई देखाइएको छ, जहाँ माया प्रेमका कुरा र जीवनको क्षणभंगुरतालाई गीतको भावमार्फत व्यक्त गरिएको छ ।
करण चैसिरको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा सागर र बिन्दुसँगै ठुलो सङ्ख्यामा कोरस नर्तकहरूको पनि प्रयोग गरिएको छ, जसले भिडियोलाई थप भव्य बनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


