
झापा, १८ चैत । बिर्तामोड नगरपालिका पालिका सहकारी समन्वय समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले झापा जिल्ला सहकारी सङ्घको आयोजनामा हुने उत्प्रेरणात्मक कार्यक्रम तथा दिवसको पूर्वसन्ध्यामा हुने दीप प्रज्वलन कार्यक्रममा उल्लेख्य सहभागिता सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक सुब्रत न्यौपानेले राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा झापाका विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको जानकारी दिँदै बिर्तामोड क्षेत्रका सहकारीकर्मीलाई चैत १९ गते मुक्तिचोकमा भेला हुन अनुरोध गरिएको बताए ।
झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदैछ । राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय स्तरका सहजकर्ता सौनक भट्टले सहकारीकर्मीलाई उत्प्रेरणात्मक प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित यस वर्षको सहकारी दिवस मनाउन लागिएको पालिका समन्वय समितिका संयोजक न्यौपानेले बताए ।
दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
बैठकका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका सदस्य एवम् पालिका इन्चार्ज युवराज गौतमले कार्यक्रमको तयारी तथा व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए ।
दिवसको अवसरमा जिल्ला सहकारी सङ्घले उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्नुका साथै सहकारी स्मारिकासमेत विमोचन गर्ने तयारी गरेको छ ।
बैठकले समन्वय समितिको वार्षिक कार्ययोजना तयार गर्न समितिका सचिव किशोर भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्ययोजना निर्माण उपसमिति गठन गरेको छ ।
उपसमितिमा युवराज पाण्डे र भीमकुमारी लिङ्देन सदस्य रहेका छन् । उपसमितिले चैत महिनाभित्र कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, बैठकले कर्जा असुली प्रक्रियामा आवश्यक समन्वय र सहजीकरणका लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।
समन्वय समितिका सचिव भट्टराईका अनुसार सहकारी क्षेत्रका साझा समस्यामा स्थानीय तहसँग सहकार्य बढाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकले पालिका सहकारी समन्वय समिति निर्माण प्रक्रियामा भूमिका खेलेको भन्दै झापा जिल्ला सहकारी सङ्घप्रति धन्यवाद व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


