
राजेन्द्र गौतम
नयाँ वर्ष !
तिमीलाई धुमधडाका स्वागत छ
तिम्रो रंग बदलिएछ
हिजो फुस्रो थियौ
आज पहेँलै भएछौ
पहिरन पनि फेरिएछ
हिजो सर्टमा थियौ
आज टिसर्टमा पुगेछौ
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
हिजोका भुक्के चप्पल
र, मरिन्च्यासे अनुहार
त्यो पनि बदलिएछ
हिजोको सफा पहिरन
आज कालो भएको छ
महेन्द्र शाहसँग
बालेन्द्र साहको
पहिरन मिलेको छ
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
हिजो पुगेर कमायौ
आज कमाएर पुग्यौ
हिजोकालाई चारसय बीस भन्थ्यौ
झ्याप्पै घटेछौ
निक्कै खुशी लागेको छ
आज दुई सय बीस भएछौ
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
हिजो किरायाकै भएपनि
दौरासुरुवालमा हुन्थ्यौ
आज त्यो पनि फेरेछौ
औपचारिकबाट
अनौपचारिक भएछौ
हिजो प्राडो र पजेरोको चर्चा हुन्थ्यो
आज सबैसँग रहेछ
किन्नै परेन, चर्चै भएन
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
फेर्छु भन्थ्यौ फेरेछौ
प्रगति त प्रतीक्षामा छ
प्रतिशोध फेरेछौ
झन् खुशी लाग्यो
हिजो गरेकै हो
हिजोकैले गरेकै गरेछौ
त्योभन्दा बढी
बोल्यो कि पोल्यो
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
गर्दै जाउ
हेर्दै जाउला
हिजो गाली गर्थ्यौ
ताली पाउथ्यौ
आज गाली आफै पचाउँदैनौ
सर्लक्कै फेरिएछौ
पुरै बदलिएर आएछौ
त्यसैले नयाँ वर्ष
तिमीलाई धुमधडाका स्वागत छ ।
के दिउ अरु
हार छैन , हरफ छ
बिचलित नहुनु
यसरी नै बदलिनु
साझा शुभेच्छा !
जनजनको शुभभावना
नयाँ वर्ष तिमीलाई
हार्दिक मंगलमय शुभकामना !
धुलाबारी, झापा ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


