
झापा, ६ असार । वन पदाधिकारी र कर्मचारीको मिलेमतोमा झापाको मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी भइरहेको खुलासा भएको छ ।
सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिव तीर्थ नेपाल लगायतको मिलेमतोमा सालका काँचा रुख कटानी भइरहेको हो । अवैध रुपमा रुख काटन् थालिएको जानकारी पाएपछि वनका उपभोक्ताले जिल्ला वन कार्यालय झापामा उजुरी दिएका छन् । उपभोक्ताले उजुरी नै हालेर विरोध गरेपछि घटना सतहमा आएको छ ।
वनमा आवश्यक प्रक्रिया पूरा नगरी सालका रुख कटान गरिएको स्थानीय उपभोक्ता मिलन प्रसाईंले बताउनुभयो । ‘सखुवाका काँचा रुख काटेर तस्करी हुँदै आएको छ’, प्रसाईंले भन्नुभयो, ‘दुई महिनाअघि पनि सखुवाको दुई ट्रयाक्टर काठ तस्करी गर्दागर्दै समातिएको थियो ।’
हाल पनि वन हाताभित्रका सालका काँचा तीन वटा रुख काटिएका छन् । करिब पाँचसय किवी परिमाणमा रहेको उक्त काठको बजार मूल्य करिब रू १८ लाख रहेको छ । कटानी गरिएको उक्त काठ हाल वनभित्रै रहेको छ ।
वनका समितिका उपाध्यक्ष डाँगी वन हाताभित्र रुख काटिएको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । ‘चोरले काट्यो कि कसले काट्यो हामीलाई थाहा छैन्’, उहाँले भन्नुभयो, ‘हामीले सबै मिलाई सकेका छौँ ।’
अध्यक्ष राजवंशीलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहनुभएन । उहाँले कुरा मिलिसकेकाले मिडियामा समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । अध्यक्ष राजवंशीले रुख काटिएको विषयमा थाहा पाउनै बित्तिकै जिल्ला वन कार्यालयलाई जानकारी गराएको दाबी गर्नुभयो ।
जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले सामुदायिक वनको हाताभित्र रुख कटानका विषयमा आफूलाई जानकारी भएको बताउँदै भन्नुभयो, ‘वनभित्र रुख ढाल्न आदेश दिनु गलत कार्य हो, यस्तो गतिविधिमा संलग्न जो कोही पनि कारबाही हुन्छ ।’ सरकारले सालका रुख बिक्री बितरण, ओसारपसारमा बन्देज लगाएको प्रमुख सुवेदीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

