
बनियानी, झापा, ८ असारः खेलाडीहरुमा देखिने हाडजोर्नी सम्बन्धी समस्याको उपचार गर्न झापामा ‘स्पोट्स क्लिनिक’ सञ्चालनमा आएको छ ।
झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलले उक्त क्लिनिक सञ्चालनमा ल्याएको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका निर्देशक डा.प्रेमबहादुर शाहीले उच्चस्तरीय प्रविधिको अर्थोस्कोपी मेसिन खरीद गरी क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
‘अमेरिकन कम्पनीको यो मेसिनको मूल्य ७० लाख पर्छ’, हाडजोर्नी सर्जन समेत रहनुभएका डा. शाहीले भन्नुभयो, ‘हामीले मेची अञ्चलभरिका बिरामीलाई लक्षित गरेर सेवा सञ्चालनमा ल्याएका हौँ ।’
विशेषगरी खेलाडीलाई खेलकुदका क्रममा धेरै चोट लाग्ने र उपचारका लागि काठमाडौँ, भारत लगायतका स्थानमा जानुपर्ने बाध्यताको अन्त्य गर्न ‘स्पोट्स क्लिनिक’ सञ्चान गरिएको हस्पिटलले जनाएको छ ।
‘मेसिनको प्रयोग गरेर दुरविन पद्धतिबाट उपचार गरिन्छ’, डा.शाहीले भन्नुभयो, ‘सानो घाउ बनाएर हाडजोर्नीमा भएको फोहोर सफा गर्ने, ट्युमर निकाल्ने र जोर्नी प्रत्यारोपण गर्छौं ।’
हालै हस्पिटलले मेसिनको प्रयोग गरेर २७ वर्षीय फुटबल खेलाडी सुजन चौधरीको सफल शल्यक्रिया गरेको छ । चार वर्षअघि फुटबल खेल्ने क्रममा चौधरीको दाहिने खुट्टामा क्रममा चोट लागेको थियो । चौधरीको देब्रो खुट्टाको लिगामेन्ट दाहिने खुट्टामा प्रत्यारोपण गरिएको छ भने उनी हाल राम्ररी खुट्टा चलाउन सक्ने भएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले चौधरीको उपचार शुल्क नलिने हस्पिटलले जनाएको छ । अस्पतालले यो प्रविधिको प्रयोग गरेर चार जनाको उपचार गरिसकेको जनाएको छ । बिरामीको प्रकृति हेरेर रू २५ देखि रू १ लाख ५० हजारसम्म खर्च लाग्ने डा. शाहीले बताउनुभयो । अस्पतालले मेची अञ्चलमै पहिलो पटक यसप्रकारको सेवा सञ्चालन गरेको दाबीसमेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

