
झापा, १५ असार (रासस): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ–गाउँमा सञ्चार सुविधा विस्तार गर्ने बताउनुभएको छ ।
झापाको अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा नेपाल टेलिकमको लेण्डलाइन सेवा विस्तारको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै पनि नागरिक सञ्चारको सुविधाबाट बञ्चित नहुने बताउनुभयो ।
उहाँले समृद्धिका लागि सञ्चारको महत्वपूर्ण हुने भएकाले त्यसको विस्तार मुलुकको दूरदराजसम्म हुनुपर्नेमा जोड दिनुभयो । ‘सञ्चार समृद्धिको सूचक हो’, उहाँले भन्नुभयो, ‘सरकार सञ्चार क्षेत्रको विकास र विस्तारमा प्रतिबद्ध छ ।’
अर्जुनधारा–२ र ३ वडाका बासिन्दालाई लक्षित गरेर १४४ वटा लेण्डलाइन क्षमताको ‘एएमएसएजी सिस्टम’ जडान गरिएको नेपाल टेलिकम बिर्तामोड बरिष्ठ इन्जिनियर सुधीरकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ०२३–४२०००० नम्बरको लेण्डलाइनबाट फोन गरेर मन्त्री बाँस्कोटाले सेवाको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामनी राजभण्डारी, टेलिकम बिर्तामोडका कार्यालय प्रमुख मिलन जोशीलगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

