
बिर्तामोड, १८ असारः हात्तीले उपद्रो मच्चाउन थालेपछि नियन्त्रणको माग गर्दै जनप्रतिनिधिले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । हात्ती नियन्त्रणका लागि सरकारले ठोस् नीति तथा योजना नल्याएको भन्दै उनीहरुले समस्या समाधानका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
भारतको पश्चिम बंगालबाट नेपाल भित्रिने जंगली हात्तीको आतंकबाट यस क्षेत्रका नागरिक असुरक्षित हुँदै आएका छन् । प्रदेश १ का सांसद एकराज कार्कीले हात्ती नियन्त्रणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ रकम विनियोजन गरेको बताए । तर, अहिलेसम्म उक्त बजेटबाट हात्ती नियन्त्रण गर्ने काम भएको छैन । ‘आगामी वर्ष थप छ करोड बजेट आउँदैछ’, उनले भने, ‘बजेट ल्याएर मात्र हुँदैन, खर्च पनि गर्नुपर्छ ।’
हात्तीको आक्रमणबाट झापामा पाँच वर्षमा ३५ जनाले ज्यान गुमाइसकेका छन् भने बर्सेनि दुई करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति हुँदै आएको छ । प्रदेश सांसद वसन्त बाँनियाले हात्ती नियन्त्रणका लागि आवश्यक स्रोत साधन नभएकाले हात्तीबाट मानव र वस्ती सुरक्षित हुन नसकेको औँल्याए । ‘हात्ती नियन्त्रणका लागि चाहिने आवश्यक स्रोत साधनको खाँचो छ’, उनले भने, ‘जंगली हात्ती आहारको खोजीमा गाउँघर पस्ने गरेको छ, वनजंगलमा हात्तीलाई चाहिने आहारको खेतीको सुरुवात गर्नु जरुरी छ ।’
प्रदेश सांसद ओमप्रकाश सरावगीले पनि वन क्षेत्रमा हात्तीको आहार खेती गर्नुपर्ने सुझाए । त्यस्तै, प्रदेश सांसद पूर्णसिंह राजवंशीले भारतको पश्चिम बंगाल सरकारसँग जंगली हात्ती व्यवस्थापनबारे ठोस वार्ता नभएसम्म झापामा हात्ती आतंक नरोकिने बताए । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले हात्ती आतंक रोकथामका लागि सौर्य तारबारसहितको जैविक पदमार्ग र आहार खेती, जलक्षेत्र निर्माण गर्नुपर्ने सुझाएका छन् ।
नेपालमा वन्यजन्तुबाट हुने क्षतिमध्ये ७० प्रतिशत जंगली हात्तीबाट हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. सिद्धार्थ बजा्रचार्य बताउँछन् । बज्राचार्यका अनुसार नेपालमा हात्ती आतंकलाई रोकथाम गर्न भुटानले लगाएको सौर्य तराबारजस्तै झापाको मेचीनगरस्थित बाहुनडाँगीमा सौर्य तारबार लगाउँदा भारतबाट आउने जंगली हात्तीलाई ९५ प्रतिशत रोकथाम गरिएको छ । पश्चिम बंगाल सरकारसँग सहकार्य नगरेसम्म हात्ती नियन्त्रणले दिगो व्यवस्थापन नपाउने उनले बताए ।
वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीका अनुसार झापामा रैथाने हात्तीका साथै भारतबाट हुलका हुल आउने जंगली हात्ती नियन्त्रणका लागि लगाइएको सौर्य तारबारको व्यवस्थापनमै चुनौती थपिएको छ । उनले भने, ‘मेची नदीसँगै रहेको तारबार निर्माणमा एक करोड २० लाख रुपैयाँ खर्च गरे पनि तटबन्धन र टावर मर्मत सम्भार नै मुख्य चुनौतीको रुपमा छ ।’ मेचीनगरको बहुवनदेखि जलथलसम्मको वन क्षेत्र जोड्ने गरी जैविक पदमार्गका लागि सरकारले दुई करोड बजेट चालु आर्थिक वर्षमा विनियोजना गरेको थियो ।
आगामी वर्ष ६ करोड थपेपछि आठ करोड रुपैयाँले जैविक पदमार्ग निर्माण गरी हात्ती नियन्त्रणलाई रोकथाम गर्न सकिने प्रमुख सुवेदी बताए । झापामा विहीबार सौर्य तारवार लगाएकै ठाउँबाट १८ वटा जंगली हात्ती नेपाल प्रवेश गरेका छन् । ती हात्तीले दैनिक उपद्रो मच्चाउन थालेपछि स्थानीय आतंकित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

