
बिर्तामोड, १९ असार । झापामा यौनजन्य हिंसाबाट १३ जना बालबालिका पीडित भएका छन् ।
जिल्ला पछिल्लो छ महिनाको अवधिमा १३ जना बालबालिका यौनजन्य हिंसाको शिकार भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि अधिवक्ता अर्जुन बस्नेतका अनुसार सन् २०१८ को जनवरीदेखि जुन महिनासम्म भएको २९ वटा मानवअधिकार उल्लंघनका घटनामध्ये २५ वटा घटनामा महिला तथा बालबालिका पीडित भएका छन् ।
‘छ महिनामा यौनजन्य हिंसाबाट बालबालिका बढी पीडित भएका छन्’, उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।’
इन्सेकका अनुसार सात जना बालिका बलात्कृत, पाँच जना बालिकामाथि बलात्कार प्रयास र एक जना बालक यौन दुव्र्यवहारको शिकार भएको छ । बलात्कृत भएका सातमध्ये चारजना बालिका १० वर्ष मुनिका छन् ।
आफूले विश्वास गरेका, चिनेका र भर परेकाहरुबाटै बालिका असरुक्षित देखिएको इन्सेक प्रतिनिधि बस्नेतले बताउनुभयो । बालिका बाहेक छ महिनामा ११ जना वयस्क महिला यौनजन्य घटनाबाट पीडित भएका छन् । सात जनाको बलात्कार भएको छ भने दुई जना महिलामाथि बलात्कार प्रयास भएको छ । घटनाका अधिकांश अभियुक्त कानुनी कार्वाहीको दायरामा रहेको बस्नेतले बताउनुभयो ।
घरेलु हिंसाका कारण दुई जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अर्जुनधारा–१ की योनिता लिम्बू र गौरीगञ्ज–३ की निमथोकी शेर्पा रहेका छन् । दुबै महिलाले श्रीमान्को आक्रमणबाट ज्यान गुमाउनु परेको बस्नेतले बताउनुभयो । घटनाका दुबै अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

