
बनियानी, झापा, २१ असार । झापाको कनकाई नगरपालिका आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले बिहीबार कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी आगामी आवको नीति तथा कार्यक्रमसहित ४९ करोड ७९ लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । कार्यक्रममा नगर प्रमुख राजेन्द्र पोखरेलले कनकाई नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेकै दिनको अवसर पारेर बजेट सार्वजनिक गरिएको बताए ।
नगरपालिकाले विनियोजन गरेको बजेटमा नदी नियन्त्रणका लागि एक करोड ५० लाख, शिक्षातर्फ ४५ लाख, पर्यटन विकास तथा संस्कृति प्रवर्धनमा एक करोड, खानेपानी तथा ढलनिकासमा ६० लाख, मेशीनरी औजार खरिदमा एक करोड १५ लाख, बहु उद्देश्यसीय कम्प्लेक्स निर्माण समपूरक कोषका लागि ३ करोड २० लाख, सडक मर्मत तथा स्तरोन्नतीका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै, मेयर आवास कार्यक्रमका लागि ३० लाख, सडक बोर्डबाट सञ्चालन हुने योजनाका लागि ५० लाख, प्रकोप तथा विपद व्यवस्थापनका लागि ७५ लाख, सूचना तथा सञ्चारका लागि १७ लाख, विद्युत् विस्तार र सौर्य उर्जाका लागि एक करोड ३० लाख, संस्थागत विकासका लागि एक करोड, नगरपालिका भवन तला थपका लागि ५० लाख, सरसफाई तथा फोहोर व्यवस्थापनतर्फ ५० लाख, लक्षित वर्गका लागि ७५ लाख, स्वास्थ्यतर्फ ३४ लाख १६ हजार, कृषि तथा पशुपालनका लागि ६५ लाख, ससर्ततर्फ ११ लाख ४५ हजार, पशुपालनतर्फ १५ लाख, ससर्ततर्फको लागि ८ लाख १६ हजार र खेलकूदका लागि २५ लाख रकम विनियोजन गरेको छ ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद एलपी साँवाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद हिरा थापा र एकराज कार्की विशेष अतिथि रहेका थिए । स्वागत उपमेयर मञ्जु दाहाल प्रसाईले गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले गरेका थिए ।
झापाका आठ वटा नगरपालिकामध्ये कनकाईले सार्वजनिक गरेको बजेट सबैभन्दा कम हो । अरु नगरको बजेट ५० करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

