
दिग्गज बलिउड अभिनेता मिथुन चक्रवर्ती आफ्नो छोराका कारण तनावमा परेका छन् । विवाहको दुई दिनअघि उनका छोरा महाक्षयमाथि बम्बै हाइकोर्टमा बलात्कारको मुद्दा परेको छ ।
महाक्षयले आफूमाथि बलत्कार गरेर गर्भपतन गर्न लगाएको आरोपसहित एक भोजपुरी अभिनेत्रीले मुद्दा दायर गरेकी हुन् । मुद्दा दायरसपछि महाक्षयले अग्रिम जमानतका लागि निवेदन दिएका थिए । तर, उक्त निवेदन अदालतले खारेज गरेको छ । त्यसैले महाअक्षय पक्राउ पर्ने सम्भावना बढेको छ । महाक्षय र अभिनेत्री शिला शर्माकी छोरी मदालसा शर्माबीच ७ जुलाईमा बिहे हुँदैछ । आज संगीत सेरिमोनीका लागि पाहुनाहरु बोलाइएको छ । तर, महाक्षयमाथि गम्भीर आरोप लागेपछि बिहे हुने(नहुने ठेगान छैन ।
मदलसाकी आमा शिला भने अझै पनि बिहेको पक्षमा नै छिन् । उनले महाक्षयको बचाउ गरेकी छन् । एक अन्तरवार्तामा उनले भनिन्, ‘हामीलाई पहिल्यैदेखि यो विषयमा राम्रो जानकारी छ । सबैको आफ्नो अतित हुन्छ, त्यसलाई कोट्याएर साध्य छैन । बिहे रोकिदैन ।’ महाक्षयको बिहे उँटीको मोनार्क होटलमा हुने भनिएको छ । यो मिथुनको आफ्नै होटल हो । छोरामाथि लागेको आरोपका सम्वन्धमा मिथुनले केही पनि बोलेका छैनन् ।
यसैबीच पिडितका वकिलले महाअक्षयले नशालुपदार्थ खुवाएर बलात्कार गरेको बताएका छन् । बलात्कारपछि बिहेको आश्वासन दिएकाले पिडित अहिलेसम्म चुप लागेर बसेको उनको भनाई छ । ‘पिडित अहिले पनि बिहेका लागि तयार छिन्, तर चक्रवर्ति परिवार उनलाई बुहारी स्वीकार्न तयार छैन,’ ती वकिलले भने ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

