
कनकाई, २३ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
शुक्रवार सुरुङ्गामा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो । पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी र महासंघ झापाका कार्यवहाक अध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई संयुक्त रुपमा उक्त रकमको चेक प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि सांसद एलपी साँवा लिम्बू, सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संयुक्त रुपमा चेक प्रदान गरेका थिए ।
सहयोग ग्रहणपछि कार्यक्रममा बोल्दै महासंघका संस्थापक महासचिव भण्डारीले सहारा नेपाल साकोसप्रति धन्यवाद ज्ञापन गर्दै सहाराको उदाहरीय कामको प्रशंसा गरे । उनले पत्रकारको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको कोषमा सहयोग गर्न सबैलाई आव्हान गरे ।
कोषमा हालसम्म ३७ लाख रुपैयाँ बढी रकम जम्मा भइसकेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले जानकारी दिए । महासंघले एक करोड रुपैयाँको उपचार कोष बनाई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग पु¥याउने कार्यविधिका साथ अभियान अघि बढाएको छ ।
सहारा नेपाल साकोसले यसअघि ५ लाख रुपैयाँ प्रदान गरेपछि कोष स्थापना गरेर अभियान अघि बढाइएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

