
दिपक चापागाईं

म श्रमिक हूँ
मेरो सपनाहरु
समुद्रको छालहरु झैं
निरन्तर छछल्किँदै
पसिना र रगत मिसिएर
नदीको पानीसरि
अविरल बगिरहेको छ ।
मालिक बन्ने सपना बोकेर
दिन–रात पसिना बगाउँदा
धाँजा फाटेका खेत झैँ
मेरा हातका औंलाहरुले
मेरी प्रेमिकाको यौवन र जवानी
मुसारी रहँदा, उसको खिस्स हाँसो
मेरो यौवन र जवानीको निम्ति
उकालीमा भारी बिसाएर बस्ने
चौतारी बनेर आइदिन्छ
मुस्ताङका स्याउ झैं उनका गाला
चन्द्रमुखी उनको अनुहारमा
यौवनको बहाव आएको जब देख्छु
अनि म भित्तामा झुण्डिएको ऐनामा
महुरीले रस चुसेको फुल झैं
मालिकले श्रम चुसेको मेरो अनुहार
जुधाएर हेर्दा म झसंग हुन्छु
मेरो आमाले चुसेका ती
भुक्के मेरा गालाहरु
सम्पन्नता खोज्दा खोज्दै
मुजै मुजा भएर
चाउरिएको मेरो अनुहारले
जवानीलाई हेरेर हाँसीरहेको
अनुभूति म आफैँ गर्दछु ।
मेरा चाउरी परेका गालाहरुले
चाउरिँदै गएको क्रान्तिलाई
श्रम शोषणको पीडालाई
हक, हित र अधिकारको नारालाई
श्रमिकमाथि राजनीति गर्ने नेतालाई
चिहाइरहेको जस्तो लाग्छ
मेरा मुटुका धड्कनले
घडीको काँटालाई छाडेर
अतालिँदै दौडिरहँदा पनि
मेरा सपनाका पहाडहरु
कतै पनि टसमस नगरीकन
मालिकतर्फ फर्किएर
मलाई नै चस्स चस्स घोच्दा
निन्द्रामा ब्यूझिएर झसंग हुन्छु
प्रत्येक वर्ष क्यारेन्डरका
पानाहरु पल्टिरहेका हुन्छन्
वसन्तले पालुवा फेरिरहेको हुन्छ
फेरि श्रमिक दिवस आइरहँदा
मेरो छोराको अनुहार हेर्छु
अनुहारमा पुरानै मेरा सपनाहरु
ज्यूँकात्यूँ भएर उसका अनुहारमा
डुबुल्की मारेको देखिरँदा
यसरी नै श्रमिक दिवस धेरै वर्षसम्म
दिवसमै सीमित नरहोस्
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !
कनकाई (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

