
विर्तामोड, २८ असार । सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो ।
सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो ।
त्यस्तै अढाइ वर्षीया बालिकाको पनि डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चारआली–केचना सडकखण्डअन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा बालिका बुधबार साँझ डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

