
ताप्लेजुङ, ३१ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाअन्तर्गत सिनाम आम्बेगुदिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
गएरातिको वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि आज बिहानैदेखि उक्त सडक खण्डमा चल्ने यातायात बन्द भएको स्थानीयवासीले बताएका छन् । सिनाम र आम्वेगुदिन जोड्ने नेगुखोला नजिकै दुई ठाउँमा झरेको पहिरोले सडक पुरेको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार तेल्लोक र आम्वेगुदिनबाट पाँचथर, इलाम साथै झापाको बिर्तामोड जाने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।
यस्तै ताप्लेजुङ सदरमुकामतर्फ गएका र सदरमुकामबाट तेल्लोक आम्वेगुदिन आएका सवारी साधनसमेत बीचैमा रोकिएका छन् । थेबेका अनुसार बिहानैदेखि पहिरोले बाटो अवरोध भए पनि कतैबाट खुलाउने प्रयास भएको छैन । नजिकै रहेको एउटा स्काभेटर मेसिनमा समेत खराबी आएकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको थेबेले बताउए ।
उक्त क्षेत्रमा सधैँ पहिरो झरिरहने समस्या भए पनि रोकथामका लागि कुनै प्रयास नभएको बताइएको छ । पहिरो गएको क्षेत्रमा अहिले मोटरेवल पुलसमेत निर्माण भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

