
बिर्तामोड, २१ जेठ । झापाको बिर्तामोडमा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनोनेट’ कथासंग्रहको विमोचन गरिएको छ ।
‘मनोनेट’को अग्रज साहित्यकार भवानी क्षेत्रीले विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै साहित्यकार क्षेत्रीले पुस्तकमा रहेका कथा छोटो र सरल भएको बताउनुभयो ।
‘अहिलेको युग भनेको थोरै बोलेर धेरै बुझाउनुपर्ने युग हो’, उहाँले भन्नुभयो, ‘पुस्तक युग सापेक्ष रहेको छ ।’ कथा छोटा भए पनि कतिपय स्थानमा कवितात्मक शैलीको भएको बताउनुभयो । कथाको अन्त्यमा प्रयोग गरिएका कतिपय वाक्यले कथा पूरा नभएको जस्तो लागे पनि वाक्य मिलन राम्रो भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईं, पत्रकार दिपीन राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकमा २२ वटा कथा समेटिएको छ भने पुस्तक १७२ पृष्ठको रहेको छ । पुस्तक बजारमा आइसकेको र मेचीदेखि महाकालीसम्मको उपलब्ध गराउने तयारी भइरहेको लेखक सिग्दलले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

