
सन्तोष शर्मा
बनियानी, ४ साउन । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामकारण गरिएको छ ।
मुलुकबाटै लोडसेडिङ हटाउने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँबासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।
उक्त गाउँमा दुई सय घरधूरी रहेको छन् । तीमध्ये एक सय घरमा विद्युत् सेवा नहुँदा कुटी बाल्दै आएका थिए । ‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँबासी हैरान थिए’, चोक नामकरण समितिका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमान सरलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, त्यसैले टोलको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।’
विद्युत् समस्याका विषयमा स्थानीयबासीले कार्यकारी निर्देशक घिसिङ समक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तरगत रू २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनरामनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए । अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनुका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँबाले बताए । पूर्व–पश्चिम राजमार्ग अन्तरगत सुरुङ्गाबाट ६ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्ड समेत राखिएको छ ।
पर्याप्त भोल्टेल भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरस मेत राख्न थालेको साँवाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

