
बिबिसी । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो।
यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। फेला परेको भनिएको ताल मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ। मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो।
यो अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा। रोबर्टो ओरोसेई भन्छन्, “सम्भवतस् यो त्यति विशाल ताल हैन।” मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निर्क्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको छ।
“यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ। यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो हैन,” उनले भने। यो चित्राङ्कनमा मार्स एक्स्प्रेसलाई मङ्गल ग्रहको सतहको अन्वेषण गर्दै गरेको देखाइएको छ। माथिपट्टि मार्सिस रेडारको परिणाम देखाइएको छ।
यसरी फेला पर्यो
मार्सिसजस्ता रेडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा सङ्केत पठाएर फर्केको प्रतिसङ्केतको परीक्षण गर्छन्। यही विधि प्रयोग गरेर मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको प्रा। ओरोसेई बताउँछन्। तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन। ओपन युनिभर्सिटीका डा। मनीष पटेल भन्छन्, “हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ। त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

