
सन्तोष शर्मा
हल्दिबारी (झापा) ११ असारः झापाका स्थानीय तह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणमा जुटेका छन् ।
जिल्लामा रहेका १५ वटा स्थानीय तहमध्ये केही गाउँ÷नगरपालिकाले आगामी नीति कार्यक्रम सार्वजनिक समेत गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । बिर्तामोड, दमक, भद्रपुर र मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । स्थानीय तहले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास लगायतका विषयमा जोड दिएका छन् ।
यसैबीच, हल्दिबारी गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको छ ।
‘पूर्वको पर्यटकीय स्थल, हल्दिबारीको जलथल’ भन्ने नारालाई कार्यान्वयन गर्ने उद्देश्यले जंगलमाथिबाट केवलकार सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताउनुभयो ।
‘यहाँको जंगलको जैविक विविधिता दक्षिण एसियाकै राम्रोको सूचीमा पर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि अघिल्लो आर्थिक वर्षमै गुरुयोजना बनाएर ७० लाखको लागतमा जंगलभित्र सडकको ट्रयाक खोल्ने काम गरिसकेका छौँ, डिपियार गरेर बाँकी काम अघि बढाइने छ ।’
आगामी आर्थिक वर्षमा पर्यटकीय स्थलको विकासमा जोड दिइने गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे बताउनुभयो ।
गाउँपालिका क्षेत्रभित्र रहेको पर्यटकी स्थल स्वर्गद्वारी, धनुषपोखरी, रमाइलो डाँडा, भेलागढी, पाथीभरा, साकेला तथा जलथल जंगलको गुरुयोजना तयार गरेर अघि बढ्ने योजना रहेको अधिकृत घिमिरेले बताउनुभयो ।
त्यस्तै, उज्यालो गाउँपालिका अभियानलाई कार्यान्वय गर्न सार्वजनिक स्थलमा सडक बत्ती विस्तार, गाउँपालिकाबासीलाई भूकम्प प्रतिरोधी घर निर्माणमा अभिप्रेरित गर्ने, एक वडा एक उत्पादन कार्यक्रम लगायतका कार्यक्रम गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा समेटेको छ ।
गाउँपालिकाले महिला सशक्तिकरणका लागि ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई ‘गाउँ माता र गाउँ पिता’को उपमाले सम्मान गर्ने जनाएको छ । हरेक विकास निर्माणको काममा बालबालिकालाई सहभागी गराउने गाउँपालिकले नीति बनाएको छ ।
आगामी बजेट ४४ करोड ४८ लाख
यता, गाउँपालिकाले रू. ४४ करोड, ४८ लाख ८५ हजार बराबरको आगामी आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।
आर्थिक विकासमा रू ३ करोड, भौतिक पूर्वाधारमा रू ४ करोड, सामाजिक विकासमा रू ३ करोड, वन वातावरण विपत व्यवस्थापनमा रू ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा रू ५० लाख, वडागत कार्यक्रममा रू २ करोड २० लाख, सामाजिक सुरक्षा अनुदानमा रू ८ करोड ६९ लाख लगायत १२ वटा शीर्षकमा बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

