
बिर्तामोड, २६ असार । साहित्य चौतारी झापाले २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती संगीत बर्षको रुपमा मनाउने भएको छ ।
२०५६ साल असार ३१ गते स्व।राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारी झापाले आगामी असार ३१ गते शुक्रबार विविध कार्यक्रम गरी २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती मनाउने भएको हो ।
साहित्य चौतारी झापाले यस वर्ष संगीत वर्षको रुपमा मनाउने र नेपालका पूर्व क्षेत्रका शास्त्रीय संगीतका धुरन्धर विद्वान प्रशिक्षक (गुरु) बिराटनगर निवासी कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गरिने साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । आगामी असार ३१ गते सिंहवाहिनी महिला समूहको नौमती बाजासहित साहित्यकारहरुको र्यालीले बिर्तामोड नगर परिक्रमा गरिने उनले बताए ।
उनले साहित्य चौतारीले २०८१ सालमा रजत महोत्सव मनाउने, झापा गोल्डकप अन्तर्गत ५ लाखको अक्षयकोष राखेर त्यसको व्याजबाट खेलाडीलाई खेलकुद पुरस्कार दिइने, मासिक काव्यसभालाई निरन्तरता दिनेलगायतका योजना जानकारी गराएका थिए । होटल हिकोला हेरिटेजको साहित्य चौतारीको सभाहलमा लोक तथा लोकदोहोरी गायक इलामे श्रष्टा देवीप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गायन, नृत्य, कविता वाचनलगायतका साहित्यिक तथा साँगितिक प्रस्तुति रहने उनले बताए ।
कार्यक्रम संयोजक तथा साहित्य चौतारी झापाका उपाध्यक्ष दिपक रायमाझीको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठको आतिथ्यमा भएको कार्यक्रममा साहित्य तर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्यहरु जीवनजगदिस धिताल, सुनिता तामाङ,कुमार श्रेष्ठलगायतले साहित्य चौतारी झापाका कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाकी महासचिव खगेन्द्रा खुशीले गरेकी थिइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


