
झापा, ११ कात्तिक । उनी एक सन्यासी थिए, जसलाई सञ्चारमाध्यमले ‘विश्वका सबैभन्दा फोहोरी मान्छे’ भनेर चिनाउँथे। तिनै मानिसको ९४ वर्षको उमेरमा निधन भएको छ ।
केही महिना अघि मात्रै उनले दशकौँपछि पहिलो पटक नुहाएका थिए । साबुन र पानीले ५० वर्षभन्दा लामो समय ननुहाएका उनले यी दुवै चिजलाई आफूभन्दा परै राखे । उनलाई यी दुई वस्तुको प्रयोग गर्दा बिरामी हुने डर थियो ।
अमोउ दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे । पहिले पनि उनको गाउँबासीले उनलाई नुहाउन सुझाएका थिए । तर उनी शरीर सफा गर्ने कुराबाट परै रहन्थे । तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमोउ हाजी गाउँलेसामु झुक्न पुगे । उनले गाउँलेको दबाबमा आफ्नो शरीर साबुन–पानीले सफा गरे ।
इरानको इरना समाचार एजेन्सीका अनुसार नुहाएपछि उनी अचानक बिरामी भए । त्यही बिरामले उनको गत आइतबार ज्यान नै गयो । तेहरान टाइम्सलाई सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो प्रिय भोजन दुम्सी भएको बताएका थिए । उनी जमीनमा बनेको एक सुरुङ र गाउँलेले देजगाह गाउँमा बनाइदिएको कुटीमा बस्थे ।

समाचार एजेन्सी इरनाका अनुसार उनी सडेको मासु खान्थे। त्यसैगरी तेलको पुरानो बट्टामा भरेर फोहोर पानी पिउँथे। उनलाई धुमपान गर्न मन पर्थ्यो । एक तस्वीरमा उनलाई एकसाथ कयौँ सिगरेट तानिरहेको देख्न सकिन्थ्यो । समाचार एजेन्सीका अनुसार उनलाई नुहाउने कोशिश गर्दा या सफा पिउने पानी दिँदा दुःखी हुन्थे। तर पनि उनले ननुहाई नै यति लामो वर्ष बिताएको रेकर्ड बनाउन सके या सकेनन् यसमा विवाद छ। एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


