
झापा, १८ बैशाख । यसवर्ष १५औं महानन्द पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेल रसुन्दर कुरुपलाई दिइने भएको छ ।
नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कृत प्रतिभाहरुको नाम सार्वजनिक गरेको हो । पोखरेल कनकाईको सुरुंगा र कुरुप इलामको चुलाचुली निवासी हुनुहुन्छ ।
त्यस्तै, यसवर्षदेखि वितरण हुने भवानी घिमिरे रंगपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल बैद्यलाई दिइने भएको छ । यो पुरस्कार साहित्कार एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले स्थापना गर्नु भएको हो । साहित्यकार एवम् राजनीतिज्ञ गोपालकुमार बस्नेतले स्थापना गर्नु भएको हिरा आकाश पूर्णटुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका साहित्यकार एवम् पत्रकार प्रेम ओझालाई दिइने भएको छ ।
सबै पुरस्कारको राशी १५–१५ हजार रुपैयाँ रहेको छ । इलाामको रोङस्थित देवानछापमा यही वैशाख ३० गते यी पुरस्कार वितरण हुने महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष वृहस्पति खतिवडाले जानकारी दिनुभयो । भाषाशास्त्री सापकोटा मुलुकको मूर्धन्य साहित्यकार एवम् राजनीतिज्ञ समेत रहनु भएको महानन्द पुरस्कार समितिका महासचिव चन्द्र भण्डारीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


