
राजेश ढुंगाना
बद्रिया अर्थात् बद्री डोमको मुखबाट एकाबिहानै ह्वास्स रक्सीको गन्ध आयो । बिहान उठेपछि एक गिलास रक्सी खान थालेर मात्र उसको दिनचर्या प्रारम्भ हुन्छ । पिउन नभएर खान नै यसकारण कि, बेड–टी भए पो पिउनु ! बिहान पिउन थालेपछि एक गिलास, फेरि एक गिलास, एक गिलास र फेरि एक गिलास रक्सीले गर्दा खान मन नलागेको हो उसलाई कि रक्सी खाएर खान नपुगेको हो ?— यो प्रश्नले उत्तर आजसम्म नपाए पनि रक्सी खाएपछि ऊ केही खाँदैन, निष्कर्ष यति मात्र हो ।
एक दिन सिकिस्त भएर उसलाई हाकिमहरूले सिनेमाहल चोकको गणेश डाक्टरकोमा लगेका थिए । सबै जाँचिसकेर बंगाली डाक्टर गणेश बाबूले उसलाई भनेका थिए, ‘रक्सीको असरले कलेजो सुन्निएर यसलाई खान मन नभएको हो ।’ डाक्टरले त्यसो भन्दा स्वयम् डाक्टरकै मुखबाट समेत रक्सीको गन्ध आइरहेको थियो । फरक कति मात्र थियो भने, रक्सीको गन्ध सँगसँगै डाक्टरकोे मुखबाट तुलसी छाप जर्दापत्तीको समेत गन्ध मिसिएको थियो । तर उसले चाल पाएर पनि डाक्टरलाई त्यस सम्बन्धमा केही भनेंन, तर यति चाहिं भन्यो– त्यसो भए दाक्दर बाबु…! जति भोका मान्छे छन् संसारमा, रक्सी नखाएकै कारणले भात खान पाउँछन् ? अथवा भात टन्न खानेहरू सबै रक्सी नखानेे नै हुन्छन् त ?
एक गिलास रक्सी खाएर प्रारम्भ हुने उसको दिनचर्या नियमित रुपमा त्यसरी नै बित्दैछ, विगत चौध वर्षदेखि; जब ऊ मात्र तेह्र वर्षको थियो । स्कूलमा पाँच कक्षामा पढ्दथ्यो र जेहेनदार विद्यार्थीमा नै गनिन्थ्यो । अचानक एक दिन राति सुतेको उसको बाबु बिहान उठेन । आमाको कोलाहलसँगै उसले बाबु मरेको थाहा पायो । केेही दिनमा उसले स्कूल छोड्यो र नगर पञ्चायतमा बाबुकै ठाउँमा मेहतरमा नियुक्ति पायो ।
किताब बोक्ने र कापीमा लेख्ने उसका कोमल हातहरू अब क्रमशः चर्पी सफा गर्न थाले । उसले विवाह गर्यो । यस बीचमा प्रजातन्त्र आयो र नगर पञ्चायत कुनै एउटा बिहान नगरपालिका भयो । प्रधानपञ्च ओम बाबूबाट अचानक पुष्प सर नगर–प्रमुख भए । पञ्च शासनको समाप्तिपछि प्रजातान्त्रिक शासन आयो । क्रम चल्दाचल्दै उसको छोरा भयो… अकोर् वर्ष छोरी भई…अकोर् वर्ष, अकोर् र अकोर् वर्ष गरेर आधा दर्जन सन्तान भए ।
चु्नाव फेरि आयो, बिहान एक गिलास रक्सी खाएपछि उसले बाबुले भनेको सम्झ्यो… ‘तेरो हजुर बाबु एक दिन अचानक मरेका थिए…’ आदि इत्यादि ।
देशमा यत्रो परिवर्तन आयो । तर, उसको नियतिमा भनें परिवर्तनको सट्टा किन यो पुनरावृत्ति ? रक्सी खानु मात्र उसको पुस्तैनी कमजोरी भएन… अर्काको गुहु सोहर्नु उसको परम्परागत पेशामा मात्र उसको नियति टुंगिएन । मर्नु र यही अचानक मर्नु पनि उसको प्ुस्तैनी नियति भएको छ । यति सम्झेपछि ऊ… आफ्नो मृत्यु अर्थात् अचानक मृत्युसँग डराएन । उठेर एक गिलास फेरि खायो ।
उसकी स्वास्नी कचकच गदैर् थिई । जसरी उसकी आमा उसको बाबुलाई गर्थी र बाबुबाटै उसले सुनेको थियो… हजुरआमा पनि यसै गर्थिन्, उसका हजुरबुबालाई । उसका प्रत्येक अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सोचेझैं, एक गिलास रक्सी खाएपछि आफ्ना सन्तानहरूलाई सम्झ्यो । उनीहरूको भविष्य…!
सम्झदा–सम्झदै ऊ झमक्क भएको थियो, अनायास ढोका ढक्ढकियो । उसले ढोका खोलेको मात्र के थियो, जीबु बाबू दुई हात जोडेर ऊसँग ठिंग उभिएका थिए । कुनै ठूला मान्छेले दुई हात जोडेर उसलाई आजसम्म कसैले नमस्कार गरेको थिएन, त्यो पहिलो पटक थियो । उसलाई लाजलाज लाग्यो । अप्ठेरो…अप्ठेरो लाग्यो । र, भन्यो–. मालिक, पाउलागी ।
बद्री अर्थात् बदरिया डोमहरूको नियति… शताब्दियौंदेखि !
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


