

नविन उप्रेती/ सन्तोष शर्मा
बनियानी, २९ जेठ । धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका कृषक चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको करिब दुई सय टन चैते धान बिक्रीका लागि राखिएको छ । तर, धान मिलले हामीलाई धान पुग्यो भन्दै किन्न छाडेपछि यहाँका कृषक समस्यामा परेका छन् ।
केही समयअघि स्थानीय व्यापारीलाई कृषकले प्रतिमन रू एक हजार ५० देखि रू एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ कृषक दुर्गाप्रसाद थापाले बताउनुभयो ।


“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उहाँले भन्नुभयो, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उहाँले बताउनुभयो ।
धान स्थान सुपरजोन समन्वय समितिका सदस्य समेत रहनुभएका उहाँले कृषकले सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
करिब तीन बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएका कचनकवल–३ का अर्का कृषक तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गर्नुभएको छ ।
“शुरु–शुरुमा १२ सय रुपैयाँ प्रतिमन धान बिक्री भयो”, उहाँले भन्नुभयो, “सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सय रुपैयाँ भएको छ ।” एक बिघाको धान काटेर थुपार्नु भएका उहाँले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताउनुभयो । एक साताभित्र धानको मूल्य प्रतिमन रू तीन सयले घटेको उहाँको भनाइ छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले कृषकले भण्डार गरेर राख्ने अवस्था नरहेको कृषक बताउँछन् । मूल्य कम पाए पनि बेच्नै पर्ने बाध्यता रहेको कृषकहरुको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन बृद्धि भएको छ ।
“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, कृषक मिश्रले गुनासो गर्नुभयो, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”
नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा कृषकले उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको कृषक मिश्र बताउनुहुन्छ ।

केही समय अघि ३२ सय रुपैयाँमा प्रतिक्वीन्टल बिक्री भइरहेको धान हाल २४ सयमा पनि नबिकेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
“अहिले यहाँका किसानले झण्डै दुई सय टन धान उत्पादन गरेका छन्”, उहाँले भन्नुभयो, “धान बिकेन भनेर किसानको गुनासो धेरै आइरहेको छ ।” धान बिक्रीको वातावरण बनाउन संघीय कृषिमन्त्रीलाई खबर गरेको उहाँले बताउनुभयो । “मैले सहजीकरण गरिरहेको छु”, उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि काँचो धान किनेर राख्ने अवस्था छैन ।”
तस्वीरहरु : नवीन उप्रेती
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।