झापा, १७ साउन । झापाको अर्जुनधारा नगरपालिकामा सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजी गरिएको छ ।
झापाको अर्जुनधारामा सुपारी अनुसन्धान तथा प्रशोधक केन्द्र स्थापनाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पहल गर्नुभएसँगै सोको लागि जग्गा खोजी शुरु गरिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषदका डाइरेक्टर भानुभक्त पोख्रेल, अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतको टोलीले आज नगरका विभिन्न स्थानमा जग्गा खोजी गरेको छ ।
सरकारी खाली जग्गा खोजी गर्ने क्रममा अर्जुनधारा–५ मा करिब १० बिघा खोला उकास जग्गा फेला परेको नगरप्रमुख नगरप्रमुख गोम्देनले बताउनुभयो । “नगरपालिकाले नीति तथा कार्यक्रममै सुपारी कृषकलाई प्रविधि मैत्री बनाउने योजना लिएको छ”, उहाँले भन्नुभयो, “नगदेबालीको रुपमा रहेको सुपारी खेती प्रबद्र्धन पनि अध्ययन केन्द्र र प्रशोधन केन्द्र स्थपानाका लागि पहल थालिएको हो ।”
हाल फेला परेको जग्गामा कृषि विज्ञहरुको टोलीले पुनः अध्ययन गर्ने र उपयुक्त भएपछि मात्र थप कामकारबाही अघि बढाइने अर्जुनधारा नगरपालिका प्रेस संयोजक नन्दलाल खतिवडा (नन्दु)ले जानकारी दिनुभयो । अनुसन्धान केन्द्रमार्फत् सुपारीका २० प्रजातिका बिरुवा उत्पादन गर्ने र माटो तथा हावापानीको आधारमा उपयुक्त जात कृषकलाई वितरण गर्ने योजना अनुरुप उपयुक्त जग्गा खोजी भएको उहाँले बताउनुभयो ।
झापाको अर्जुनधारा, बुद्धशान्तिमा बढी मात्रामा सुपारी खेती हुँदै आएको छ । झापामा तीन हजार हेक्टरमा सुपारी खेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।