
झापा, १३ भदौ । विश्वमा भारत धनी देशको वरीयतामा सायदै आउँछ। तर पश्चिमी राज्य गुजरातको एउटा त्यस्तो गाउँ छ जुन एसियाकै धनीमा गनिन्छ।
२०० जना अर्बपति भए पनि र अम्बानी परिवार गुजरातसँग जोडिए पनि यो गाउँमा उनीहरु बस्दैनन्, न त उनीहरु प्रत्यक्ष रुपमा नै जोडिएका छन् । यहाँ त्यस्तो ठूलो उद्योग वा व्यवसायहरु पनि छैनन् । यसका बाबजुद यो गाउँ सिंगापुर, यूएई र कतारजस्ता आर्थिक शक्तिकेन्द्र भएको एसिया महादेशकै धनी कसरी बन्न सक्यो ?
द टाइम्स अफ इन्डिया, एनडीटीभी र अन्य रिपोर्टहरुका अनुसार गुजरातको कच्छ जिल्लामा रहेको माधपार गाउँ एसियाकै धनी गाउँ हो । यहाँ ३२ हजार मानिसहरु बस्छन् । तिनमा पटेल समुदायको बाहुल्य छ । माधपारनजिकैको मुख्य सहर पोरबन्दर हो । जुन महात्मा गान्धीको जन्मस्थान पनि हो ।
माधपार निकै विकसित छ। यहाँ राम्रोसँग बनाइएका सडक, खानेपानी आपूर्ति र स्वच्छताजस्ता आधारभूत कुराहरुलाई विशेष ध्यान दिइएको छ। यस गाउँमा बंगला, स्कुल, हेल्थकेयर र अरु धेरै मठमन्दिरहरु रहेका छन् । यक्ष मन्दिर यहाँको प्रसिद्ध मन्दिर रहेको छ । जहाँ ७२ यक्षहरु बस्छन् । यक्ष भनेका जाख समुदायका प्रसिद्ध देवताजस्तो मानिन्छ ।
यहाँ खासगरी बैंकिङ पूर्वाधार राम्रो छ । सोही कारण यो १७ बैंकको घर पनि हो । तिनमा मुख्य सार्वजनिक र निजी संस्थाहरु एचडीएफसी बैंक, युनियन बैंक, आईसीआईसीआई बैंक, स्टेट बैंक अफ इन्डिया, पन्जाब नेसनल बैंक र एक्सिस बैंक रहेका छन् । यी बैंकहरुको कुल मुद्दती निक्षेप (फिक्स्ड डिपोजि) नै ७० अर्ब भारु रहेको एनडीटीभीले जनाएको छ। यही कारण यो गाउँलाई धनी मानिएको हो।
यो गाउँसँग गैरआवासीय भारतीय परिवारको निकटता छ। यहाँका १ हजार २ सय परिवारहरु विदेशमा बस्छन्। तिनमध्ये प्रायः अफ्रिकी देशमा रहेका छन्। घरदेखि टाढा बसे पनि यी परिवारले आफ्नो बचत स्थानीय बैंकमै जम्मा गर्छन्। यसले गर्दा निक्षेप उच्च भएको हो। यसबाहेक कृषिले पनि मुख्य योगदान गरेको छ। माधपारले आँप, उखु र मकै निर्यात गर्दै आएको छ। जीक्यूइन्डियाबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


