एलिश भट्टराई
घर तथा खेतबारीमा भएका झारपात , कुनै अन्नको भुस र पराल , काठ, जनावरका हड्डी र रौँ , गोबर , सुली आदि लाई राम्रो संग सुकाएर अधिक तापक्रम ( ४०० – १००० 0 C ) तथा न्युन या शुन्य अक्सिजन भएको अवस्थामा आगो लगाउदा कार्बोन धेरै भएको अंगार बन्छ । यो अंगारको नाम हो , बायोचार । अक्सिजन थोरै वा हुँदै नभएको अवस्थामा आगो बाल्दा , कार्बोन डाईअक्साइडका रुपमा अर्गानिक कार्बोन उडेर जादैन । यसले गर्दा बायोचारको प्रयोगले अर्गानिक तत्वको मात्रा बढाएर माटोलाई स्वस्थ बनाउन र उर्बरासक्ति बढाउन मद्धत गर्दछ ।
बायोचार बनाउदा कच्चा पदार्थको प्रकार , पोल्ने वा डढाउने बिधि, आगोको तापक्रम , अक्सिजनको मात्रा आदिले यसको गुणस्तर निर्धारण गर्दछ, जसका कारण हरेक पटक र हरेक घरमा यसको गुणस्तरमा अन्तर हुन्छ । जस्तो गुणस्तरको भए पनि यसले माटोको स्वास्थ सुधार्ने कार्य भने गर्छ नै । बायोचारमा बोटबिरुवा र माटोलाई आवश्यक पर्ने खाद्यतत्वहरु कार्बोन , हाईड्रोजन , अक्सिजन, सल्फर , पोटास र नाइट्रोजन आदि पाईन्छ ।
नेपालका अधिकतम खेतियोग्य माटोमा अम्लियपन उच्च भएका कारण एकातर्फ कृषि उत्पादनमा ह्राश हुँदैछ भने अर्कोतर्फ माटोमा हुने महत्वपूर्ण सुक्ष्म जीवको संख्यामा कमि हुदैछ । जैविक तत्वको मात्रा पनि नेपाली कृषिजन्य जमिनमा थोरै छ र यो घट्दो अवस्थामा छ । यो दुवै समस्याको समाधान बायोचार बन्न सक्छ । हामीले भर्खरै मात्र गरेको ९० दिनको अनुसन्धान अनुसार नेपालमा कृषि कर्म गरिने ५ प्रकारका माटो ( दोमट , बलौटे चिम्टे , चिम , बलौटे दोमट र चिम्टे दोमट ) मा बायोचारको ( दर : २५ टन प्रति हेक्टर / ०. ८३ टन प्रति कट्ठा / १. २७ टन प्रति रोपनी ) प्रयोगले अर्गानिक तत्व बढाएको पाइयो भने सबै बाट अम्लियपन घटेको पाइएको छ ।
खेतबारीमा प्रयोग गरेको मललाई यसले आफ्नो पकडमा राख्दै महत्वपूर्ण तत्वहरुलाई पानी र हावाको माध्यमबाट बग्न र उड्नमा कमि ल्याउछ । यसको प्रयोगले माटोलाई खुकुलो र ओसिलो पनि बनाउन सहयोग गर्दछ । धेरै छिद्र भएको र पानी सोस्न सक्षम हुँदा यसले माटोको आयतन बढाउन सहयोग गर्दछ । धेरै अध्ययनका अनुसार माटोमा बस्ने सुक्ष्म जिवहरुको संख्या बृद्धि र स्तरउन्नतिमा पनि बायोचारको महत्वपूर्ण योगदान रहेको पाइएको छ ।

बायोचारले माटोको गुणस्तर सुधार गर्न उत्प्रेरकको भूमिका खेल्ने भएतापनि यसलाई मलको सट्टामा भने प्रयोग गर्न मिल्दैन । एकपटक प्रयोग गरेको बायोचार हत्तपत्त गल्ने वा सड्ने नहुँदा यसलाई बर्सेनी मल जसरी प्रयोग गर्न पर्दैन, माटोको अम्लियपन र अर्गानिक तत्वको जाँच गरि कृषि विज्ञको सुझाब अनुसार केहि वर्षको अन्तरालमा प्रयोग गर्नु उचित हुन्छ । मलको सट्टामा प्रयोग गर्न नमिल्ने भएपनि मलमा भएका पोषणलाई माटोमा लामो समय सम्म संचय गर्न र बोटबिरुवालाई सजिलो संग दिन यसको राम्रो भूमिका हुन्छ ।
आजको दिनमा बजारमा बायोचार सजिलै उपलब्ध हुने भएतापनि घर र खेतबारीमा भएका स्रोत र साधन प्रयोग गरि यसलाई सजिलै बनाउन सकिन्छ । घरमै बायोचार बनाउने तरिकालाई क्रमानुसार यहाँ प्रस्तुत छ :
१. बायोचार बनाउन सकिने सबै सामान सङ्कलन गर्ने । खेतबारी वरपर भएका झारपात , कुहिएका काठ , काठको धुलो, सुली, गोबर , कुनै पनि अन्नको भुस र पराल , रुखका हाँगा र पात , जनावरका हड्डी जस्ता चिजबिज बाट बायोचार बनाउन सकिन्छ ।
२. संकलन गरिएका सामान बाट पानी सबै सुकेर जाने समय सम्म घाम मा सुकाउने।
३. एक तर्फ खुल्ला भएको फलामे ड्रम या भाँडो लिने अथवा माटोमा १. ५ मीटर जत्रो खाल्डो बनाउने।
४. सुकेका सामान ड्रम या खाल्डोमा राख्ने र आगो बाल्ने। याद रहोस् , यो कार्य गर्दा हावा नचलेको दिन र स्थान छान्नुहोला।
५. आगो एकपटक लागिसकेपछि , बिस्तारै अन्य सामान थप्दै जाने। यो कार्य गर्दै गर्दा , पहिलो पटक हालेको सामान पूर्ण नडढिसकेकै अवस्थामा दोस्रो सामान थप्न पर्छ। सकेसम्म खरानी बन्ने प्रक्रिया घटाउन पर्छ तर अलिकति पनि खरानी नबन्ने भने हैन।
६. आगो लाग्दा कालो धुवाँ आए , कार्बोन धेरै उडेर जान सक्छ। त्येसैले कालो धुवाँ सकेसम्म आउन दिनु हुदैन।
७. सामान थप्दै जाँदा माथि पट्टिको सामानले तलका सम्म थोरै मात्र अक्सिजन जान दिने भएकाले तलपट्टी बायोचार बन्ने प्रक्रिया भैरहेको हुन्छ।
८. सबै सामान हालेर आगो लागिसकेपछि , राम्रोसंग नियाल्ने। सबैभन्दा माथिका सामान डढेर अंगार जस्तो भएको देखिनासाथ आगो निभाउने।
९. आगो निभाउन थोरै मात्रामा पानीको प्रयोग गर्न सकिन्छ तर गउँत को प्रयोग गरि आगो निभाउँदा बायोचारको गुणस्तर अझ राम्रो हुन्छ।
१०. आगो निभाएर एक रात बायोचारलाई छोपेर त्यहिँ छाडिदिने। अर्को दिन बोरामा हाली लौरोले पिटेर बायोचारको धुलो बनाउने।
११. खेतबारी जोत्ने वा खन्ने बेला बायोचारलाई माटोसंगै मिसाईदिने।
महत्वपूर्ण तत्वहरु भएको , माटोको भौतिक ,रसायनिक र जैविक अवस्थामा सुधार ल्याउन सक्षम , मल र पानीको प्रभाभकारी प्रयोग गर्न सक्ने बायोचारलाई माटोको मल्टी- भिटामिन भन्दा कुनै अन्याय नहोला ।
— लेखक भट्टराई कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि स्नातक तहको चौथो वर्षमा अध्ययनरत छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

